![](https://newspolar.com/wp-content/uploads/2022/03/maobadi_banda_satra_Q7sV679fqV.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा समानुपातिकतर्फ भने केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ ।
काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ ।
स्रोतका अनुसार समानुपातिकतर्फ सहमतिबाटै केन्द्रीय सदस्यहरु टुंगो लगाइनेछ, र यसका लागि निर्वाचन हुने छैन । सात प्रदेशलाई हरेक क्लस्टरमा संख्या तोकेर केन्द्रीय सदस्य दिन भनिएको थियो । त्यसअनुसार ५ वटा प्रदेशमा सहमति जुटेको ती नेताले बताए । प्रदेश २ र वागमतीमा सहमतिको प्रयास भइरहेको छ ।
समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।
माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।
तर, अहिले फेरि अर्को तालिका सार्वजनिक गर्दै दिउँसो ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको हो ।
नयाँ कार्यतालिका अनुसार मतदान सोमबार बिहान ८ बजेदेखि हुने भएको छ ।