काठमाडौँ । नेपाली टोलीका सदस्य शरद भेषवाकरले अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् ।
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताका लागि कप्तानका रुपमा हङकङ पुगेका भेषवाकरले सोही प्रतियोगिताबाट सन्यास लिने यसअघि नै जानकारी दिएका थिए । विभिन्न १२ टोली सहभागी प्रतियोगितामा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । त्यसबाहेक सबै खेलमा नेपाल पराजित भयो । नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र आज युएईसँग पराजित भयो ।
भेषवाकरले दुई दशकभन्दा लामो समय नेपालका लागि अन्तरराष्ट्रिय क्रिकेट खेलमा उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्यको रुपमा क्रिकेट खेलेका थिए । उनले सन् २००४ मा युएई विरुद्धको खेलबाट नै सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । त्यसअघि उनले सन् २००२ मा नेपाली यु–१५ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
नेपालले पहिलो पटक सन् सन् २०१४ मा विश्वकप क्रिकेट खेल्दा उनी महत्वपूर्ण सदस्य रहेका थिए । त्यस्तै सन् २०१८मा नेपालले एकदिवसीय मान्यता पाउँदा पनि उनी टोलीमा थिए ।










