२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को नाम र स्थायी राजधानी टुंगो लाग्दै



अ+ अ-

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी मंगलबार टुंगो लाग्ने भएको छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ । सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई ५ मिनेटको समय उपलब्ध गराइनेछ । छलफल सकिएलगत्तै मतदान हुने सभाुमख यादवले बताए । यसका निम्ति सबै तयारी भइसकेको उनको भनाइ छ ।

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै राख्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । यद्यपि नामको विषयमा सहमति हुन सकेको छैन । प्रदेशका चार दलले तीन वटा अलग–अलग नाम प्रस्ताव गरेका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने भनेर प्रस्ताव दर्ता गराएका छन् । प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेको समाजवादी पार्टीको ३०, राजपा नेपालको २५, प्रमुख प्रतिपक्षी नेकपाको ३२, अर्को प्रतिपक्षी काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ ।

नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भएपनि यो कुनै दलसँग छैन । यसअघि नाम र राजधानी सहमतिमै टुंगो लगाउन र प्रस्तावमाथि छलफल गर्नका लागि प्रदेशसभाको बैठकबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय विशेष समिति गठन गरिएको थियो । विशेष समितिमा पनि दलहरुबीच स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भए पनि नामको विषयमा सहमति हुन सकेन ।