२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जीलाई पूर्वसचिव त्रितालको पत्र : आग्रह, पूर्वाग्रह त्याग्नुहोस्, तपाईंहरु जवाफ दिने ठाउँमा हुनुहुन्छ



अ+ अ-

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले जेनजीहरुलाई आग्रहपूर्वाग्रह त्यागेर जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले जेन–जीहरु प्रश्न सोध्ने नभएर कुरा सुन्ने र जवाफ दिने ठाउँमा भएको बताएका छन् ।

पूर्वसचिव त्रितालले आज सामाजिक सञ्जालमार्फत् धाकधम्की, तुक्कातुक्की र अहंकारपूर्ण बोली र व्यवहार देखाउने जिम्मेवारी गुण्डु कुटीवालाहरुलाई नै छाडिदिन आग्रह गरेका छन् ।

उनले भ्रष्ट नेता तथा अन्य अवैध सम्पत्तिवालाको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न ढिलाइ भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउन पनि सुझाव दिएका छन् ।

पूर्वसचिव त्रितालले सामाजिक सञ्जालमा लेखेका छन्–

जेन–जी युवाहरु,

अव तपाइँहरु जवाफ दिने ठाउँमा हुनुहुन्छ नि !

तपाइँहरुको छोटो तर प्रभावशाली आन्दोलन दशकौंदेखि भ्रष्टाचार र अहंकारको पर्याय बनेका नेताहरुलाई धुलिसात गराउन सफल भयो । यो ज्यादै ठूलो सफलता हो ।तथापि, तपाइँहरुको आन्दोलनमा भएको घुसपैठका कारण राष्ट्रको सम्पत्तिमा धेरै ठूलो हानिनोक्सानी पनि भयो ।

तपाइँहरुको सिफारिसमा बनेको सरकार छ । त्यसर्थ, अव तपाइँहरु प्रश्न सोध्ने होइन, कुरा सुन्ने र जवाफ दिने ठाउँमा हुनुहुन्छ ।

अव तपाइँहरुको बोली र व्यवहारमा शालिनता, सहनशिलता, वस्तुपरकता र सहयोगी तथा समन्वयात्मक भाव हुनु र देखिनु आवश्यक छ । आग्रह, पूर्वाग्रह अव त्याग्नुहोस् । धाकधम्की, तुक्कातुक्की र अहंकारपूर्ण बोली र व्यवहार देखाउने जिम्मेवारी गुण्डु कुटीवालाहरुलाई नै छाडिदिनुहोस् ।

अव तपाइँहरुको जिम्मेवारी आफ्नै सरकारलाई सघाउने र सजग गराउने हो ।

तपाइँहरुको आन्दोलनको मिसन भ्रष्टाचारको नियन्त्रण र सुशासन थियो । त्यसको लागि तपाइँहरुले सरकारलाई सोही अनुसार काम गर्न सहयोग र सजग गराउनुपर्छ ।

सर्वप्रथम, मन्त्रिपरिषदका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गराउन ढिला भइसकेको कुरा सम्झाउनु होस् । भ्रष्टाचार नियन्त्रण र सुशासनको पहिलो कदम यही हो । यो भएन भने सरकारप्रतिको जनविश्वास नकारात्मक हुँदै जान्छ र परिस्थिति नियन्त्रण बाहिर पनि जान सक्छ भन्ने कुरामा हेक्का राख्नुहोस् ।

दोस्रो विषय, भ्रष्ट नेता तथा अन्य अवैध सम्पत्तिवालाको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न पनि विलम्ब भइरहेको छ । यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्ने देखिन्छ ।

सरकारले पाएको म्यान्डेट अनुरुप स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित निर्वाचन गर्न, गराउन उपयुक्त वातावरण निर्माण गर्ने तर्फ ध्यान दिनुहोस । यसका लागि तपाइँहरुका बीचमा नै विश्वसनीय एकता देखिनु आवश्यक छ । पुराना दलहरुमा जस्तो गुट, उपगुटमा विभाजित भएर ङारङारङुरङुर गर्नतिर लाग्नुभयो भने तपाइँहरुको आन्दोलनको औचित्यमा नै प्रश्न उठ्ने छ ।

सबै दलका युवा र इमान्दार नेता तथा कार्यकर्तासँग छलफल र अन्तरक्रिया गर्ने व्यवस्था मिलाउनुहोस् ।

मतदाता नामावलीमा नाम दर्ता गराउन बाँकी सबै योग्य मतदातालाई सहयोग गर्नुहोस् ।

तपाइँहरुको मिसनमा सफलता पाउने एउटा महत्वपूर्ण हतियार आगामी निर्वाचन हो । त्यसपछि तपाइँहरुले चाहे अनुरुपको सरकार बन्न सक्ने आधार यही नै हो ।