२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग गरिएको छ । अधिवक्ताहरु बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले प्रधानमन्त्री ओलीको किड्नी प्रत्यारोपणबारे सूचना माग गरेका हुन् ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अधिवक्तादय न्यौपाने र भण्डारीले सूचनाको हक प्रयोग गर्दै सोबारे सूचना उपलब्ध गराउन निवेदन दिएका छन्।

निवेदकहरुले प्रधानमन्त्री ओलीले किड्नी प्रत्यारोपण गरेको मिति, किड्नी दान गर्नेको पहिचान, किडनी लिने र दिनेबीचको नाता तथा किड्नी दाता र ग्रहण गर्नेका पेश भएका दस्तावेज, नाता प्रमाणितका दस्तावेज, किड्नी प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सूचना माग गरेका छन् ।

सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन राज्य र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेको छ । सोही ऐनको दफा ३ ले प्रत्येक नागरिकलाई सूचनाको हक हुने व्यवस्था गरेको भन्दै सूचना मागिएको निवेदकहरुको भनाइ छ ।