२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कालोबजारी हटाउन सुपथ मुल्य पसल सञ्चालन गर्ने



अ+ अ-

काठमाडौं । उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी भएको जनाएको हो । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको बताउनुभयो ।

मन्त्री भट्टले चाँडै सुपथ मूल्य पसल र घुम्ती पसल सञ्चालन गर्ने विषयमा मन्त्रालय र कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिमा पनि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाडपर्वमा सञ्चालन गरेजस्तो सुलभ, सस्तो पसल भनेर सञ्चालन गर्ने तयारीमा छौँ । खाद्य व्यवस्था विभाग र साल्ट ट्रेडिङले तत्काल ती ठाउँहरुमा अलिअलि सहज हुनेगरी आवश्यक कोटा निर्धारण गरेर वितरण गर्ने व्यवस्था गर्ने तयारी छ ।’

मन्त्री भट्टले बजार अनुगमनका लागि गृहमन्त्रालयसँग समन्वय गरेर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रत्येक जिल्लामा अनुगमन गरी कारवाही गर्ने र अभाव हुने अवस्था सिर्जना हुन नदिने बताउनुभयो । संकट आउँछ थुपारौँ भन्ने मनोवृतिका कारण केही समस्या देखिएको उहाँको भनाई । उहाँले आवश्यकता भन्दा बढी सिलिण्डर भरेर नराख्न पनि आग्रह गर्नुभएको छ । असुरक्षित हुने भएकाले भरेका सिलिण्डर घरमा भण्डारण नगर्न नेपाल आयल निगमले पनि चाँडै सूचना प्रकाशन गरी आग्रह गर्ने मन्त्री भट्टको भनाई छ ।