काठमाडौं । नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ को औपचारिक घोषणा गरिएको छ । यो चलचित्रको निर्देशन राजु श्रेष्ठले गर्ने भएका छन् ।
चलचित्रको निर्माता कैफ खान हुन् भने कथालेखन सुमन गजमेरले गरेका छन् । निर्माण पक्षका अनुसार चलचित्रमा मुख्य भूमिकामा उमर खान देखिने छन् ।
उमर एक बहुप्रतिभाशाली व्यक्तित्व हुन् जसले टिकटकमा ९० को दशकका रोमान्टिक गीतहरूमा आफ्नो अभिनय कला प्रस्तुत गर्दै लाखौंको मन जितेका छन् । तेक्वान्दोमा ४३ स्वर्ण पदक विजेता उनी चितवनमा मदरसा विद्यालयका सञ्चालक समेत हुन् ।
उमरले नेपाली फिल्म ‘होस्टेल ३’ मा भिलेनको भूमिकाबाट डेब्यू गरेका थिए ।
यस्तै, अन्य कलाकारहरुको चयन भने क्रमशः अनुबन्ध हुँदै जाने जानकारी दिइएको छ ।
‘कंगाल करोडपति’ को विषयवस्तु हाल गोप्य राखिएको भए पनि निर्माण टोलीले यसलाई मनोरञ्जनसँगै समाजिक सन्देश समेटिएको चलचित्रका रूपमा निर्माण गरिने जनाएको छ ।
निकट भविष्यमै कलाकार घोषणा र छायांकन तालिका सार्वजनिक गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।









