काठमाडौं । नेपालीहरुले विदेशमा काम गरेर पठाउने रकम विप्रेषण (रेमिट्यान्स) पछिल्लो समयमा घटेको पाइएको छ । रेमिटेन्स गत वर्ष भन्दा यसवर्ष घटेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०७६/७७ को ७ महिनाको आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स घटेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७५ को साउनदेखि माघसम्म ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएकामा २०७६ को साउनदेखि माघसम्ममा ५ खर्ब १३ अर्ब रुपैयाँमात्र प्राप्त भएको हो । गत वर्ष २८.५ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाह यो वर्ष ०.५ प्रतिशतले घटेको सो समाचारमा जनाइएको छ ।
यसरी रेमिटेन्स घटेको भए तापनि उता गत वर्ष भन्दा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या भने बढेको देखिएको छ । यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ ।
यसरी यो संख्यामा विदेश जानेको संख्या बढ्दा पनि रेमिटेन्स किन घट्यो भन्ने विषयमा भने अनुसन्धान नै गर्नुपर्ने भएको छ ।










