२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन बढ्यो सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच मनमुटाव ?



अ+ अ-

काठमाडौँ । संघीय संसदको कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई नियुक्ति दिइएको विषयमा सुरु भएको राष्ट्रिय सभाका अध्यक्ष र सभामुख अग्नि सापकोटाबीचको झगडा अहिले सतहमै देखिएको छ ।

योगीलाई महासचिव तोकिएको विषयमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले कडा आपत्ति जनाएको समाचार यसअघि नै बाहिर आएको थियो ।

यही चैत २ गते सभामुख सापकोटाले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई नेपालको ‘संघीय संसदको महासचिव भई कामकाज गर्न’ तोकेका थिए । उनलाई पत्र नदिन अध्यक्ष तिमिल्सिनाले भनेका थिए । तर पनि त्यसको बेवास्ता गर्दै सभामुख सापकोटाले सो पत्र दिएका थिए । तर परामर्श नै नगरेपनि सभामुखले भने ‘राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यबाहक तोकिएको’ भनेर पत्रमा उल्लेख गरेका थिए । यस विषयमा अध्यक्ष तिमिल्सिनाले कडा आपत्ति जनाउँदै मलाई नै नसोधी किन यो पत्र दिइएको भनेर आपत्ति जनाएका थिए ।

यसरी सुरु भएको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव हाल आएर सतहमा नै देखिएको पाइएको छ । यो झगडाको पहिलो किस्ताका रुपमा बुधबार संसदको एक बैठकमै देखिएको छ । सभामुख सापकोटाले प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल गर्न बैठक राखेका थिए ।

तर सो बैठकमा अध्यक्ष तिमिल्सिना गएनन् । आफू यस बैठकमा उपस्थित हुन नसक्ने सन्देश उनले पठाएको एक अधिकारीले बताए । उनी आफू त उपस्थित नभएसँगै राष्ट्रिय सभाअन्तर्गतका समितिका सबैजना सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिएका थिए ।

यो कुराको पुष्टि राष्ट्रिय सभाको दीगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले आज गरेकि छिन् । उनले भनिन्– ‘अध्यक्षज्यूले सरसल्लाह भएन भन्नुभयो, त्यसैले उपस्थित भएनौँ’ ।

यसरी अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापतिहरू नै नआउने भएपछि सभामुख सापकोटाले भने आजको बैठक स्थगित गरेका छन् ।

योगीलाई कार्यबाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए । सभामुख सापकोटासँगको भेटमा अध्यक्ष उनले आफूसँग परामर्श नगरी योगीलाई कार्यबाहक तोकिएकोमा आपत्ति जनाएको उनी निकट स्रोतले भन्यो ।

योगी प्रतिनिधिसभाको सचिव बन्दा पूर्व माओवादीले सिफारिस गरेको थियो । अहिले पनि सभामुख माओवादीकै भएकोले योगीलाई सिफारिश गरिएको थियो ।

संघीय संसदको महासचिव र सचिवको नियुक्ति तथा योग्यता सम्बन्धी कानूनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ । योगीको उमेर ४५ पुग्न अझै १५ महिना बाँकी छ । आफ्नो सिफारिसमा नियुक्त सचिवको योग्यतामा उमेर बाधक बनेपछि पूर्व एमाले वृतमा बाहिरबाट महासचिव नियुक्त गर्नुपर्ने मत बलियो रूपमा उठेको छ ।