काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेमै फर्कन तयार भएका छन् । गएराति खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले गुण्डुमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
त्यस क्रममा एकीकृत समाजवादीमा आएको विभाजनका विषयमा छलफल भएका थिए ।
एमाले अध्यक्ष ओलीले खनालसहित सबै नेता तथा कार्यकर्तालाई मूल घरमै फर्कन आग्रह गरेका थिए । दुई नेताबीच भएको छलफल सकारात्मक भएको बताइएको छ ।
नेकपा माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्णय लिएपछि खनाल सहितका नेताहरू असन्तुष्ट थिए । एकता प्रक्रिया नै अस्वीकार गरेका पूर्वप्रधानमन्त्री खनाललाई ओलीको सचिवालयले छलफलका निम्ति गुन्डु बोलाएको थियो ।
त्यसो त खनालले एमाले फर्कन चार शर्त राखेका छन् । उक्त सर्तमा ओलीले छलफल गर्न सकिने बताएपछि फेरि भेट्नेगरी खनाल डल्लु फर्किएका छन् ।
माओवादीसँग एकता गर्न तयार नभएको र घनश्याम भूसालको नेतृत्वमा हुन लागेको पुनर्गठन प्रक्रियामा समेत सामेल नभएकी रामकुमारी झाँक्री लगायत नेताहरू भने निशर्त एमाले फर्कने तयार भइसकेका छन् ।










