बागमती। बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने भएको छ।
आज यहाँ हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय ‘यसएनओपिएस’ बीच हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरका रूपमा विकास गर्ने सम्झौता भएको हो ।
‘सिटीज फर वुमन नेपालः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण’परियोजनाअन्तर्गत भएको सम्झौताअनुसार ‘यसएनओपिएस’ले हेटौँडा उपमहानगरपालिकालाई एक लाख ८४ हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने समझदारी भएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो ।
सम्झौताले समावेशी र जलवायु प्रतिरोधी सहर विकासमा टेवा पुग्ने गरी स्थानीय सरकारका योजना निर्माणमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले पनि परियोजनाअन्तर्गतको रकमको ३० देखि ५० प्रतिशत लागत साझेदारी गर्ने सम्झौतामा उल्लेख छ । तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण सिर्जना भएका चुनौतीको सामना गर्नु ‘सिटीज फर वुमन’ परियोजनाको मुख्य उद्देश्य रहेको त्यस अवसरमा जानकारी दिइयो । रासस










