२९ कार्तिक २०८२, शनिबार
,
Latest
मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ कर्णाली यश्विसले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो: प्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ऋषिकेश’ धार्मिक पर्यटकीय गन्तव्य बन्दै



अ+ अ-

तानसेन, (पाल्पा) । यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र ९रिणी०मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् ।

पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा छ । यस वर्ष पनि ऋषिकेश भगवान्को रथयात्रा निकालिएको छ । देशका विभिन्न स्थानबाट आएका तीर्थयात्री, साधुसन्त र भक्तजनको यहाँ ठूलो उपस्थिति थियो ।

मन्दिरमा रथयात्राका दिनमात्रै करिब पाँच हजार भक्तजनले पूजाआजा गरेका छन् । अघिपछि पनि मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको पुजारी विवेक भट्टराईले बताउनुभयो । उहाँका अनुसार ठूलो सङ्ख्यामा आएका भक्तजनले रथलाई रुरु क्षेत्रधामस्थित ऋषिकेश मन्दिर परिसरबाट रिडी बजार, ऋषिकेश क्षेत्र, अर्गली बजार क्षेत्रमा परिक्रमा गराई भगवान्को दर्शन पूजाआजा गरेका थिए ।

रुरु क्षेत्रधामलाई ‘नेपालको चारधाम’मध्ये एक मानिन्छ । यहाँको धार्मिक महत्त्व विष्णु भगवान्को अवतार ऋषिकेशसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार रुरु क्षेत्रको रिडीमा स्नान गरी भगवान् ऋषिकेशको दर्शन गरे पापकर्म नाश भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

यहाँ वर्षभरि तीर्थयात्रीको आगमन हुने गरेको छ । विशेषगरी माघेसङ्क्रान्ति र ऋषिकेश रथयात्राका अवसरमा  हजारौँ सङ्ख्यामा भक्तजन जम्मा हुने गर्छन् । हालका वर्षमा रुरु क्षेत्रलाई धार्मिक पर्यटनस्थलका रूपमा विकास गर्न स्थानीय सरकार, धार्मिक गुठी संस्था र विभिन्न सङ्घसंस्थाले पहल गरेका छन् ।

मन्दिर पुन:निर्माण, तीर्थपथ सुधार, खानेपानी र सरसफाइजस्ता आधारभूत संरचना विस्तारसँगै रुरुक्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको स्थानीयवासी कमल खनालले बताउनुभयो । यो रथयात्रा केबल धार्मिक श्रद्धाको प्रतीक मात्र नभई सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ । ऋषिकेश भगवान्को रथयात्राक लागि तानसेन नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ । रासस