२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको सन्त्रासबाट बच्न महानगरपालिकाले गर्याे यस्तो अपिल!



अ+ अ-

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रासबाट मुलुक नै भयभीत भइरहेको छ । संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिका यो सन्त्रासबाट अछुत रहने कुरै भएन । यहाँ महानगरवासीसँगै देशभरिकै नागरिक विभिन्न पेशा व्यवसाय अंगालेर बसिरहेका छन् । विदेशी नागरिकहरूको समेत आवतजावत हुने मुख्य केन्द्र रहेका कारणले समेत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण छिटो फैलिन सक्ने खतरालाई मध्यनजर गरी हामी सबैले सजगता अपनाउनु पर्ने गम्भीर आवश्यकता देखिन्छ ।

त्यसैले संक्रमण देखिनुभन्दा अघि नै हामी सबै नागरिकले सजगता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण हुने सम्भावना पनि रहन्छ । उक्त संक्रमण बढी भीडभाड हुने ठाउँमा छिटो फैलिने सम्भावना भएकाले संघीय सरकारले जारी गरेको सूचनालाई आधार मान्दै सकेसम्म बढी सचेतना अपनाउनु हुन हार्दिक अपिल गर्दछु ।

काठमाडौं महानगरपालिका सांस्कृतिक सहर भएका कारण यहाँका मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्नुपर्ने पनि उत्तिकै दायित्व छ । विभिन्न समयमा यहाँ मनाइने जात्रापर्वको पनि विशिष्ट महत्व रहिआएको छ । यहाँका मूर्त अमूर्त सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु पनि उत्तिकै महत्व छ । अहिले नजिक आइरहेका पाहाँचःहे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ । तर अहिले विषम परिस्थितिमा यसरी भीडभाडकासाथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको बिधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन हुन पनि हार्दिक अपिल गर्दछु ।

त्यति मात्र होइन, यहाँ विभिन्न धर्म, संस्कृति मान्ने समुदायको पनि बाहुल्यता रहेको छ । मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा गएर आआफ्नो परम्परा अनुसार जमघट गर्ने चलन पनि रहिआएको छ । तर यस्तो अवस्थामा ती धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानहरूमा समेत भीडभाड नगरीदिन हार्दिक अपिल गर्दछु ।
साथै सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाइदिनु हुन र त्यस्ता कार्यक्रममा सहभागी नभइदिन पनि अपिल गर्दछु ।