४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी
अ+ अ-

धरान, (सुनसरी) । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बन्नुभएको छ । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गर्नुभयो । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रुपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउनुहुन्छ ।

अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गर्नुभएको थियो । हजुरबुबाबाट प्रेरित भएर उहाँका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गर्नुभयो । अधिकारीले भन्नुभयो, “बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगञ्ज, बुटवल, नारायणगढसम्म पुग्नुहुन्थ्यो ।”

सानो उमेरमा बुबासँगै बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र फूल रोप्ने काम अधिकारीका लागि खेलभन्दा पनि बढी खुसीको विषय थियो । उहाँ सम्झनुहुन्छ, “बुबा बिरुवा रोप्नुहुन्थ्यो, म त्यसमा पानी हाल्थेँ । त्यसैमा सन्तोष मिल्थ्यो, त्यही कामप्रति मोह र लगाव बढ्दै जाँदा पछि यहीँ पेसा रोजे । फूल र बिरुवासँगको सम्बन्ध मेरो आत्मासँग गाँसिएको छ ।”

केही समयअघि मात्र क्यानाडा पुग्नुभएका अधिकारीलाई त्यहाँको आधुनिक जीवनशैलीले लोभ्याए पनि मन भने सधैँ नेपालमै थियो । उहाँलाई अरूको देशमा गएर दु:ख गर्नुभन्दा आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय गर्नु गर्वको कुरा लाग्यो । दुई वर्ष नबित्दै स्वदेश फर्किएर अधिकारी अहिले इटहरीमा तीन नर्सरी शाखा स्थापना गरी सञ्चालन गरिरहनुभएको छ ।

हाल अधिकारीको नर्सरीमा सात युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चिकै सन्तोषको कुरा रहेछ”, अधिकारी भन्नुहुन्छ ।

पशुपति नर्सरीमा अहिले २५ सयभन्दा बढी प्रजातिका बिरुवा छन् । मनिप्लान्ट, टर्मिनेलिया, चाइनादल, भियतनामी नरिवल, थाइकिङ जामुन, अम्बक, सुपारीलगायत विदेशी बिरुवादेखि सिजनल फूल र फलफूलका विभिन्न प्रजातिका बिरुवा यहाँ पाइन्छन् । केही बिरुवा कोलकाता, मुम्बई, काठमाडौँ र चीनबाट आयात हुने र केही यही आफैँले उत्पादन गर्ने गरेको अधिकारीले बताउनुभयो ।

“नरिवल र सुपारीका बिरुवाको माग अत्यधिक छ”, उहाँले भन्नुभयो । अधिकारीले सञ्चालन गर्नुभएको नर्सरी अहिले इटहरीकै आकर्षण बनेको छ । यहाँ आउने जोकोही बिरुवाको विविधता र सुन्दरता देखेर मोहित हुन्छन् । धेरै व्यक्ति किनमेलसँगै घुम्न, फोटो खिच्न र फूलबारीमा रमाउनका लागि आउने गरेका उहाँको भनाइ छ ।

अधिकारीका अनुसार अहिले धेरै जसो टिकटक, युटयुब, गुगललगायत अनलाइन माध्यममार्फत माग आउने गरेको छ । “हामीले देशभर ‘डेलिभरी’ गर्ने गरेका छौँ । देशमा सम्भावना छैन भनेर विदेशिने युवाका लागि धेरै सम्भावना नेपालमै छ । लगन, मेहेनत र विश्वास भए पर्याप्त आम्दानी गर्न सकिन्छ । फूल र बिरुवाले मलाई आर्थिकमात्र होइन, आत्मिक सन्तुष्टि पनि दिएको छ”, उहाँले भन्नुभयो ।

पुख्र्यौली पेसालाई निरन्तरता दिँदै परदेशको मोह त्यागी आफ्नै माटोमा आत्मनिर्भर बनेका अधिकारीजस्ता युवा उद्यमीले देशभित्रै रोजगारी र समृद्धिको बाटो सम्भव छ भन्ने प्रमाणित गरेको छ । रासस