२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका

मेडरी नाच सीप युवा पुस्तामा सिकाउँदै पाका
अ अ+ अ-

मध्यविन्दु, (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ लेडाहाका ७० वर्षीय दुलामणि गुरौ केही वर्षदेखि मेडरी नाच युवाहरूलाई सिकाउँदै आउनुभएको छ । थारू समुदायको पौराणिक महत्त्व बोकेको मेडरी नाच लोप हुन थालेपछि दुलामणिसँगै पाका पुस्ता यसको संरक्षणमा जुटेका हुन् ।

थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला, सीप हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् । दुलामणि गुरौले अहिले मेडरी नाच समूहको नेतृत्वसँगै नाचको संरक्षणका लागि नयाँ पुस्तालाई पनि सिकाउन थाल्नुभएको हो । पुरानो पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवालाई पनि सिकाउने पहल गरिरहेको गुरौले बताउनुभयो ।

“मेडरी नाच्न धेरै जना हुनुपर्छ, अहिले धेरै हामी ७० वर्ष पार गरेका पाका पुस्ता छौँ, इच्छा देखाउने युवाहरूलाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौँ”, उहाँले भन्नुभयो, “युवा पुस्तालाई यो नाचको महत्त्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौँ ।”

हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु नगरपालिका–३ लेडाहादेखि कावासोती नगरपालिका–१५ गुन्द्रहीसम्म धार्मिक विधिअनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारू समुदायको ऐतिहासिक नाचमध्येको एक रहेको मेडरी नाच नचनिया गुरौले बताउनुभयो ।

“मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीता हरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँच पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”

थारू समुदायका अन्य नाच युवा पुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताउनुभयो । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाहरूले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताउनुभयो ।

“यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवाहरूमा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, थनेतले भन्नुभयो । थारू समुदायको लाठीनाच र झाम्टा नाचप्रति युवा पुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भर पर्नुपर्ने अवस्था रहेको छ । थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्त्व रहेको चुनिलाल थनेतले बताउनुभयो । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्त्व बिर्सिँदै गएको उहाँको गुनासो छ ।

“पहिलेपहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गाह्रो हुन थालेको छ”, थनेतले भन्नुभयो, “अहिले केही युवाको सहभागिता बढ्न थालेको छ ।” थारू समुदायमा कृष्ण लीला र महाभारतमा आधारित मेडरी नाच मात्र देखाउने गरिएको छ भने सीता हरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताउनुभयो । रासस