काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकको छानबिन गरी कारबाही गर्न अख्तियारमा उजुरी पर्ने क्रम बढेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएकाहरुकै कारण शैक्षिक गुणस्तर खस्किएको हुनसक्ने भएकाले छानबिन गर्नुपर्ने मागसहित अख्तियारमा उजुरी पर्न थालेको हो ।
नेपालमा शैक्षिक बेरोजगार दिन प्रतिदिन बढिरहेको छ । तर कतिपय सरकारी निकायमा नक्कली शैक्षिक प्रमाणपत्रका भरमा जागिरमा हालीमुहाली गरिरहेको खुलासा भइसकेको छ ।
नेपालका सरकारी तथा सामुदायिक बिद्यालयहरूमा बिकराल स्थिति छ । यस्तो समस्यालाई सम्बोधन नगरी गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिँदैन ।
भोजपुरका गणेशप्रसाद पराजुली यसका एउटा प्रतिनिधि पात्र हुन् । निजले भारतबाट नक्कली शैक्षिक बनाई एसएलसी सरहको समकक्षता कायम गराई २०३३ मङ्सिर २७ गतेदेखी शिक्षकमा नियुक्ति मात्र लिएनन् कि भोजपुरको पन्चकन्या प्राथमिक विद्यालय, वासिङ्थर्पुमा विद्यालयको प्रधानाध्यापकसमेत बने ।
उक्त बिद्यालय माध्यमिक बनिसकेको छ । उनी हाल सुनसरीबाट पेन्सन खाइरहेका छन् । यस बिषयमा सम्बन्धित निकायमा जिज्ञासा राक्दा सरकारी तथा सार्वजनिक निकायमा नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागीर खाई भ्रष्टाचार गर्ने उपर छानबिन गर्ने जनाएको छ ।
उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता भ्रष्ट प्रवृत्तिबाटका ब्यक्तिहरूको गहन छानवीन गरेमा ठूलै गिरोह कामकारबाहीको दायरामा आउने देखिन्छ । यस्ता भ्रष्ट कार्यबाट शैक्षिक प्रणालीमा गम्भीर प्रश्न उठाएको छ ।
शिक्षाविदहरू भन्छन्, नक्कली प्रमाणपत्रका भरमा शिक्षक बनेकाहरूकै कारण शैक्षिक गुणस्तर खस्किएको हो ।
देशको भावी पुस्तालाई नक्कली शैक्षिक प्रमाण धारण गरेका शिक्षकले कस्तो शिक्षा दिए होलान् भन्ने प्रश्न पनि उठेको छ ।
त्यस्ता भ्रष्ट ब्यक्तिहरूले लिएको तलब र पेन्सन असुल गरी शैक्षिक गुणस्तर सुधार गर्न प्रयोग गर्नुपर्ने सुझाव शिक्षाविद्को छ ।










