१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था
अ अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपतिनाथका भक्तजनमा कोषले यस्तो आह्वान गरेको हो ।

सङ्कटका बेलामा गर्न सकिने गरी भाव दर्शन र मानसी पूजाको व्यवस्थासमेत शास्त्रमा रहेकाले कोषले यस्तो आह्वान गरेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । घरमै बसेर भावनाले पशुपतिनाथको दर्शन गरेको, जल अभिषेक लिएको र चन्दन लगाएको अनुभव गर्न सकिने उहाँले बताउनुभयो । मानसिकरूपमा यसरी गरिने भावनाले समेत मनमा शान्तिको अनुभव हुनेछ । पशुपतिनाथ दर्शन गर्न आउने स्वदेशी एवं विदेशी भक्तजनलाई दक्षिणतर्फको २ नं ढोकाबाट मात्र प्रवेश गर्न पनि कोषले अनुरोध गरेको छ । मन्दिर प्रवेश गर्ने अन्य ढोका बन्द गरिएको छ ।

पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका अन्य मन्दिरमा प्रवेश गर्न एकपटकमा १० भक्तजन मात्र छिर्ने व्यवस्था कोषले मिलाएको छ । दश जनाले दर्शन गरेर फर्केपछि मात्र अर्को समूह पठाउने व्यवस्था मिलाइएकोे छ । मूल मन्दिरको उत्तरतर्फको कैलाश नजिकको जुत्ताचप्पल कक्ष पनि हाललाई बन्द गरिएको कोषले जनाएको छ ।

वरुणधारासँगैको जुत्ताचप्पल कक्ष मात्र खुला हुनेछ । त्यससँगैको लकर सेवा पनि बन्द हुनेछ । पछिल्लो समय पशुपतिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको सङ्ख्यासमेत घट्न थालेको छ । हाल नगण्यरूपमा मात्र भारतीय दर्शनार्थी पशुपति क्षेत्रमा देखिने गरेका छन् । सरकारले आजदेखि सीमानाका बन्द गरेकाले भोलिदेखि नगण्य पनि देखिने छैनन् । कोषले आजदेखि नै पशुपतिमा विशेष पूजा स्थगित गरेको छ । कोषले भक्तजनको मनोकाङ्क्षा पूरा हुने गरी रु पाँच हजार १०० देखि रु २१ लाखसम्मको रसिद काटेर विशेष पूजाको व्यवस्था गर्दै आएको थियो ।

पशुपतिमा गरिने नित्यपूजा, बालभोग, मध्याह्नभोगलगायत कर्म भने नियमितरूपमा हुने कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपति आउने केही दर्शनार्थीलाई भने चार ढोकामध्ये पश्चिम ढोका मात्र खोलेर टाढाबाट दर्शन गर्ने व्यवस्था गरिएको छ । भक्तजनलाई गरिने जलअभिषेक भने हाललाई कोषले स्थगित गरेको छ । पशुपतिनाथ मूल मन्दिरभित्र हुने बेलुकी आरती हेर्न जम्मा हुने भक्तजनलाई समेत प्रवेशमा निषेध गरिएको छ । नगण्यरूपमा छिरेका दर्शनार्थीलाई पनि साबुन पानीले हात गोडा धोएर मात्र मूल मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । बेलुकी पशुपतिको आर्यघाट पारि गरिने पशुपति गङ्गा आरतीमा पनि हाल २५ जनाभन्दा कम दर्शनार्थीको मात्र उपस्थिति हुने गरी व्यवस्था मिलाइएको छ ।

विद्युतीय शवदाह गृहमा शव जलाउन यन्त्रसम्म जान पनि मृतकका नजिकका सात जना आफन्तमात्र प्रवेश गर्ने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । विद्युतीय शवदाह गृहमा भीडभाड कम गर्न पनि मलामीमा आह्वान गरिएको उहाँले सुनाउनुभयो ।

“क्रियापुत्री सेवा केन्द्रमा पनि आफन्त र अत्यावश्यक व्यक्ति मात्र प्रवेश गर्न अनुरोध गरेका छौँ, संवेदनशील स्थान भएकाले अनावश्यक भीडभाड नगर्न आह्वान गर्नुपरेको हो, भक्तजनकै सुरक्षाका लागि यस्तो व्यवस्था गरिएकाले पूर्णरूपमा पालना हुने विश्वास लिइएको छ”, उहाँले भन्नुभयो ।

पशुपति क्षेत्रमा भीड हुने मन्दिर, उद्यान मृगस्थली, वनकाली, भण्डारखाल, हंशमण्डपजस्ता स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्रका आर्यघाट, क्रियापुत्री सेवा केन्द्र, विद्युतीय शवदाह गृह, जुत्ताचप्पल कक्ष, शौचालयजस्ता सार्वजनिकस्थल प्रयोग गर्नैपर्ने अवस्था आएमा कोषले उपलब्ध गराएको सामान प्रयोग गरी साबुन पानीले हात धुन पनि अनुरोध गरिएको प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

विशेष पूजालगायत हाल स्थगन गरिएका कोषका सेवा अर्को सूचना जारी नभएसम्म खुला नहुने कोषले जनाएको छ । कोषको आह्वानलाई पालना गराउन नियमितरूपमा अनुगमन भइरहेको सदस्य सचिव ढकालले बताउनुभयो ।