२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको परीक्षण अपर्याप्त भएको विज्ञहरुको गुनासो



अ+ अ-

काठमाडौँ । कोरोना अर्थात् (कोभिड १९) संक्रमण पहिचानका लागि आवश्यक सामग्री पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा कोरोनाभाइरस नमूना परीक्षण हुँदै आएको छ । तर त्यहाँ यस संक्रमणको आंशकामा प्रयोगशालाले गर्दै आएको नमुना परीक्षण पर्याप्त नभएको विज्ञहरुले बताएका हुन् ।

त्यहाँ हाल दिनमा ४५-५० जनाको मात्र नमुना परीक्षण गर्ने गरिएको छ । तर पनि यसरी दिनमा यति थोरै मानिसको मात्र परीक्षण गरेर बस्न नहुने उनीहरु बताउँछन् । उनीहरुले परीक्षणको दायरालाई फराकिलो पार्नुपर्ने बताएका छन् ।

प्रयोगशालामा कोरोनाभाइरसको नमुना परीक्षण गर्ने शैलीलाई फराकिलो बनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डाक्टर बाबुराम मरासिनी बताउँछन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक ५० जनाको घाँटीको र्याल परीक्षण गर्ने गरेको प्रयोगशालाका सूचना अधिकृत राजेश गुप्ताले बताए । गुप्ताका अनुसार ५ सय ७२ जनाको नमुना परीक्षण गर्दा एक व्यक्तिमा मात्रै कोरोनाभाइरस देखिएको थियो ।

चीनबाट फैलिएको कोरोनाभाइरस विश्वभर महामरीको रुपमा फैलिएसँगै सरकारले जोखिमयुक्त ठाउँमा ज्वरो, सुख्खा खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भएका बिरामीको नमुना परीक्षण गर्नुपर्ने विज्ञहरुले जनाएका छन् । ‘नमुना परीक्षणको दायरा बढाउनुपर्छ,’ उनले भने, ‘उपत्यका भित्रबाट भएका वा आएका बिरामीको नमुना परीक्षण गरेर मात्र हुँदैन ।’

यस भाइरसको प्रभावकारी रुपमा परीक्षणका लागि आवश्यक योजनासाथ खाका बनाएर अगाडि बढ्नुको विकल्प नभएको डाक्टर मरासिनीको भनाई छ । प्रत्येक दिन सरकारले जोखिमयुक्त स्थानबाट नमुना संकलन गरेर परीक्षण गर्नुपर्छ उनले भने । स्थलमार्ग अन्तर्गतका विराटनगरको जोगवनी, काँकरभिट्टा, धरान चितवन, कञ्चनपुरको गड्डाचौकी, वीरगञ्जको रक्सौल, नेपालगञ्जको रुपडिया, तातोपानी नाका, केरुङ, किमाथान्का, हिल्सा कोरलालगायतका नाकामा पनि कोरोनाभाइरसको आशंकामा नमुना परीक्षण गर्ने क्षमता राख्नुपर्ने उनी बताउँछन् ।