२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जीले खोजे भ्रष्टाचारविरुद्धको कारबाही, दलले भने चुनावमा जान सुरक्षा प्रत्याभूति



अ+ अ-

काठमाडौं । सरकार, राजनीतिक दल र जेन–जीबीच आज पहिलो पटक औपचारिक वार्ता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अग्रसरतामा भएको वार्तामा जेन–जी र राजनीतिक दलका फरक फरक धारणा आएका छन् । जेन–जीहरुले आफूहरुको प्राथमिकता चुनाव नभएकाले सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताए । राजनीतिक दलका नेताहरुले भने चुनावका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज झन्डै ५ घण्टासम्म चलेको बैठकमा जेनजी प्रतिनिधिले चुनावका सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्दै सुशासन र भ्रष्टाचार विरूद्धको कारबाहीलाई प्राथमिकता दिन आग्रह गरेको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले बताएका छन् ।

जेनजीका प्रतिनिधिहरूले भने, ‘हामीलाई चुनाव चाहिएको छ, गर्नुपर्छ पनि । तर, चुनाव–चुनाव भनेर मात्रै हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचार विरूद्धको कारबाही हो ।’

राजनीतिक दलका नेताहरुले भने सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा आफूहरुसमेत सहमत भएको बताए । उनीहरुले आफूहरुले विगतदेखि नै भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएको दाबी गर्दै सरकारले गर्ने कारबाहीमा सहयोग गर्ने प्रतिबद्धता जनाए । तर अहिलेको परिस्थितिमा संविधानलाई ट्रयाकमा ल्याउनुपर्ने उनीहरुको भनाइ थियो ।

संविधानलाई लयमा फर्काउन चुनावको विकल्प नभए पनि सरकारले अझै सुरक्षा प्रत्याभूति दिलाउन नसकेको दलका नेताहरुको भनाइ थियो । फागुन २१ गतेका लागि तय भएको चुनावमा जान सुरक्षा प्रत्याभूति हुनुपर्ने दलका नेताहरुको भनाइ छ ।

सरकारले भने चुनावी सुरक्षाको प्रत्याभूति हुने आश्वासन दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जी समूहहरूबीच निरन्तर छलफल हुनुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गरिन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले संवादको सुरुआतमा भनिन्, ’सबै विचारको आदानप्रदान गरौँ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुआत गरेका छौँ र यसलाई निरन्तरता दिऔँ ।’ निर्वाचनको माहोल बनाउन यस प्रकारको पहिलो र महत्त्वपूर्ण छलफल प्रधानमन्त्री कार्कीले राखेकी हुन् ।

बैठकमा सरकारकोतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुन र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल, दलका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत र जेनजीको तर्फबाट मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन रानामगरको सहभागिता रहेको थियो ।

छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता थियो ।

निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक यस्तो छलफल भएको हो ।