२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुङ्फु खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण



अ+ अ-

काठमाडौं

निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई साेमबार घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

कुङ्फु खेलाडी रूपेशका हजुरबा र हजुरआमालाइ घरकाे साँचाे हस्तान्तरण गर्दै सुकमान लामा ।

जर्मनीका तीन नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिचि मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरी दिएका हुन् । सो घर निर्माण गर्न करिब ६ लाख रुपियाँ लागेको छ । भास र डेनियल आरोहणका लागि समयसमयमा नेपाल आउने गर्छन् भने मुख्य सहयोगकर्ता मुन्वर्ग नेपालस्थित ट्राभल फर सोल र होप फर नेपाल नामक सामाजिक संस्थामा आबद्ध छन् । सुकमानले रुपेशको निम्न आर्थिक स्थिति बारे जानकारी गराएपछि मुन्वर्गले घर बनाइदिने चासो देखाएका थिए । मुन्वर्गकै अनुरोधमा भास र डेनियल पनि रुपेशलाई सहयोग गर्न अगाडि बढेका हुन् ।

१८ वर्षीय रुपेश उदयीमान कुङ्फु खेलाडी हुन् । एघार वर्षको उमेरमै रुपेश कुङफुमा होमिएका थिए । गत फागुन अन्तिम साता बूढानीलकण्ठमा भएको प्रथम राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगितामा रुपेशले आफ्नो स्पर्धामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडीको ट्रफी चुमेका थिए । फुटबलमा पनि रुची राख्ने रुपेश आफ्नो टोलीका गोलरक्षक हुन् ।

यद्यपि आर्थिक स्थिति कमजोर हुँदा प्रतिभाशाली रुपेशलाई खेलकुदबाट टाढा पुर्याउन सक्थ्यो । सोही डरले सुकमानले रुपेशलाई सहयोग गर्ने पहल गरेका हुन् । सुकमानले रुपेशका लागि घर मात्र बनाइ दिएनन् । विगत ७–८ वर्षदेखि उनको परिवारलाई रासनपानीको पनि व्यवस्था गर्दै आएका छन् । रुपेश हाल बुढानीलकण्ठस्थित श्री बूढानीलकण्ठ माविमा कक्षा १० मा अध्ययनरत छन् । उनी एसइइ परीक्षा दिने तयारीमा छन् । एसइइ परीक्षा हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित छ । रुपेशको सम्पूर्ण शैक्षिक खर्च पनि सुकमानले नै जोहो गर्दै आएका छन् । सुकमानले रुपेशका लागि यी व्यवस्थामा पनि मुन्वर्ग र भासको साथ रहेको बताउछन् । यि दुवै जर्मनी नागरिक र सुकमानले मिलेर अन्य १४ जनाको पनि शैक्षिक खर्च व्यहोर्दै आएका छन् । त्यसमध्ये हाल ९ जना बाल विकास तथा ४ जना बुढानीलकण्ठमा अध्ययनरत छन् ।

एक महिनाको छँदा नै रुपेशलाई आमाले छोडेर गएकी थिइन् । त्यसपछि उनको लालनपालन ७६ वर्षीय हजुरबा केशरबहादुर खतिवडा र ६५ वर्षीयाँ हजुरआमा जानुकाले गर्दैआएका छन् । अत्यन्तै कमजोर आर्थिक स्थितिका रुपेशका हजुरबा र हजुरआमाको मुख्य पेशा गाइपालन हो । गाइपालनबाट उनीहरु दैनिक ५–६ माना दुध विक्री गर्छन् । सो आम्दानीबाट गुजारा चलाउन हम्मेहम्मे नै थियो । स्कुलको शुल्क तिर्न पनि रुपेशको परिवारलाई कठिन भइरहेको थियो । आफ्नै (सुकमान) प्रशिक्षणमा हुर्किरहेका चेलाको यस्तो अवस्थाको ज्ञात भएछि सुकमानले सकेसम्मको सहयोग गर्ने अठोट गरेका हुन् ।

बूढानीलकण्ठस्थित वडा ३ मा रहेको रुपेशकै परिवारको ३ आना जग्गामा सुकमानले नयाँ घर निर्माण गरिदिएका छन् । सोही जग्गामा जीर्ण अवस्थाको पुरानो घर अहिले पनि छ । यद्यपि २०७२ को भुकम्पपछि सो पुरानो घरमा बस्न मिल्ने स्थिति छैन । सुकमानले पुरानो घरलाई जीर्णोद्धार गरिदिनुका साथै शौचालय र किचन पनि चाँडै बनाइ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सुकमानका अनुसार नयाँ घर तला थप्न मिल्ने गरी बनाइएकोले माथिल्लो तलामा थप दुई कोठा बनाइदिने पहल पनि भइरहेको छ ।

सुकमानले घरको साँचो हस्तान्तरण गर्नुअघि रुपेशका हजुरबा र हजुरआमालाई खादा लगाइ दिए । त्यसपछि साचो हस्तान्तरण गर्दै भने– ‘मेरो चेलाका लागि सकेसम्मको सहयोग गर्न पाएकोमा म खुशी छु । अब यो घर तपाईंहरुको हो । धेरै चिन्ता गर्नु पर्दैन । नाती (रुपेश) पनि हुर्किसकेको छ । खाइनखाई नातिका लागि धेरै गर्नुभयो अब तपाईंहरुलाई नातिले हेर्ने दिन आउदै छ ।’

सुकमानको सो गुणपछि रुपेशकी हजुरआमाले आँसु थाम्न सकिनन् । रुपेशकी हजुरआमाले आँशु झार्दै भनिन्– ‘उहाँ सर (सुकमान) ले रुपेशका लागि त धेरै गर्नुभएको छ । नातिको खेल, शिक्षालगायतमा सरको ठूलो योगदान छ । पुरानो घर कति खेर भत्किने हो भनेर सधै चिन्ता भइरहन्थ्यो । नयाँ घर बनाइ दिएर हामीलाई ढुक्कसंग बस्ने वातावरण बनाइ दिनुभयो । उहाँलाई धन्यवाद । उहाँ त हाम्राका लागि भगवान सरह नै हो ।’