काठमाडौं । सर्वोच्च अदालतले गत भदौमा भएको ‘जेनजी आन्दोलन’ छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा सो आदेश जारी गरेको हो । अदालतले विपक्षीलाई छलफलका लागि पनि उपस्थित हुन आदेश दिएको छ ।
रिट दायर गर्ने अधिवक्ता ढकालले आयोगका अध्यक्ष कार्की र सदस्य शर्मा दुवैले छानबिनको विषयमा सार्वजनिक रुपमा धारणा प्रकट गरेको भन्दै उनीहरूमा पूर्वाग्रह देखिएको आरोप लगाएका छन् ।
उनले अन्तरिम आदेशमार्फत आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग समेत गरेका छन् ।
रिट निवेदनमा आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्ने भए पनि घटनाबारे पहिले नै धारणा बनाइसकेकाले उनीहरूबाट निष्पक्ष र पूर्वाग्रहरहित छानबिन सम्भव नहुने जिकिर गरिएको छ ।










