काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिहीबार दिउँसोदेखि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको विशेष बुलेटिन अनुसार चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म रहनेछ ।
चक्रवात आज राति भारतको आन्ध्र प्रदेश हुँदै कमजोर हुँदै नेपालतिर सरिरहेको विभागले जनाएको छ । यसको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा, र मधेश–कोशीका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।
साथै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
भारी वर्षाका कारण बागमती, कोशी, कमला र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने, साथै स–साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ ।
विभागले सम्भावित जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय र आम जनतालाई सतर्क रहन अनुरोध गरेको छ ।











