१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

चीनका कक्षा नेपालबाटै

चीनका कक्षा नेपालबाटै
अ अ+ अ-

काठमाडौँ । पढाउनु पर्ने चीनमै हो । पढ्दै गरेका विद्यार्थी र पढाउन खटिएका विश्वविद्यालय पनि चीनमै छन् । तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) का दुई सहप्राध्यापक दुई महिनादेखि काठमाडौंबाटै पढाइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) फैलिएपछि चीनबाट स्वदेश फर्किएका नेपाली विद्यार्थी घरमै बसेर नियमित कक्षा पढिरहेका छन् ।

‘युनिभर्सिटीको तालिकाअनुसार मार्च २ बाटै कक्षामा पढाउन पुग्नुपर्थ्यो,’ त्रिविका सहप्राध्यापक धनप्रसाद सुवेदीले भने, ‘कोरोना भाइरसको महामारी फैलिएपछि युनिभर्सिटीले अर्को सूचना नभएसम्म नआउनू भनेको छ । युनिभर्सिटीले घरै बसेर पढाउनू भनेपछि मार्च ९ बाट अनलाइन कक्षा पढाउँदै छु ।’ त्रिविबाट खटिएका सुवेदीले युन्नान प्रान्तको कुनमिङस्थित युन्नान मिन्चु युनिभर्सिटीमा नेपाली विषय पढाउँदै आएका छन् । उनी गत सेप्टेम्बरमा एक वर्षका निम्ति त्यहाँ पुगेका थिए । चिनियाँ नयाँ वर्षको अवसरमा हुने डेढमहिने हिउँदे छुट्टीमा स्वदेश फर्किका हुन् ।

‘मेरा दस जना विद्यार्थी छन्, जसमा ८ जना युन्नानका र दुई जना अन्य प्रान्तका छन्,’ भक्तपुरको सिर्जनानगरस्थित घरमा रहेका सुवेदीले कान्तिपुरसँग भने, ‘विद्यार्थी पनि घरमै बसेर मेरो कक्षामा सहभागी भएका छन् । हामीले जुम एप्लिकेसन प्रयोग गरेर भिडियो कन्फरेन्स गर्दै आएका छौं ।’ उनले बिहान सवा ८ बजेबाट डेढ घण्टाको कक्षा पढाउने गरेको बताए ।

त्रिविका अर्का सहप्राध्यापक हरिराम अधिकारी कियन युनिभर्सिटीमा अंग्रेजी विषय पढाउँछन् । जेजियाङ प्रान्तको वेनझउ सिटीमा रहेको यो युनिभर्सिटी अमेरिकी शैलीमा खुलेको चीनको पहिलो युनिभर्सिटी हो । ‘म अंग्रेजी साहित्य पढाउँछु,’ काठमाडौंको मीनभवनस्थित घरमै रहेका अधिकारीले भने, ‘यो युनिभर्सिटीमा धनाढ्यका छोराछोरी पढ्दा रहेछन् । तीन सेक्सनका विद्यार्थीलाई पढाउँछु । प्रतिसेक्सन पन्ध्रदेखि बीस जना छन् ।’

भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत अधिकारी अनलाइन पढाउँदा ‘ब्ल्याकबोर्ड सफ्टवेयर’ प्रयोग गरेको बताउँछन् । ‘मेरो रुटिन मिलेको छ, चीनमा बिहान साढे ८ बज्दा नेपालको सवा ६ बज्छ, हामी (शिक्षक र विद्यार्थी) डेढ घण्टासम्म प्रत्यक्ष कक्षामा रहन्छौं,’ उनले भने, ‘अरूले बनाइदिएको किताब पढाउनेभन्दा पनि आफैंले सबै विषयवस्तु खोजेर पावरप्वाइन्टमा प्रस्तुत गर्छु ।’ शिक्षकको प्रस्तुतिपछि विद्यार्थीले टीकाटिप्पणी गर्छन्, प्रश्न सोध्छन् र सामूहिक छलफल गर्छन् । त्यसपछि शिक्षकले साप्ताहिक र मासिक गृहकार्य दिन्छन् । यसरी उनी सातामा छवटा कक्षा लिन्छन् ।

सम्बन्धित युनिभर्सिटीका प्राध्यापक तथा सुपरभाइजरले यी दुई शिक्षक र विद्यार्थीको स्वास्थ्यस्थिति र नियमित कक्षाबारे सोधीखोजी गर्छन् । ‘मैले पढाइरहेको युनिभर्सिटीले दैनिक रूपमा मेरो स्वास्थ्यको बारेमा चासो लिएर सोधिरहन्छ,’ सहप्राध्यापक अधिकारीले भने ।

त्यसैगरी केशव गिरी चीनको हुनान युनिभर्सिटीमा मास्टर्स इन सिभिल इन्जिनियरिङअन्तर्गत ब्रिज एन्ड टनेल विषय प्रथम वर्ष तेस्रो सेमेस्टरमा अध्ययनरत छन् । कोरोना भाइरस फैलिएपछि गत जनवरीमा स्वदेश फर्किएका उनी काठमाडौंमै बसिरहेका छन् । ‘युनिभर्सिटीको नियमानुसार अहिले अनलाइनबाट सातामा दुईवटा कक्षा पढिरहेको छु,’ गिरीले भने, ‘विच्याटको प्रयोग गर्छौं । हरेक दिन प्राध्यापक र सुपरभाइजसँग कुराकानी हुन्छ । हाम्रो स्वास्थ्यस्थितिबारे जानकारी लिन्छन् । अनलाइन कक्षामा शिक्षकले दिएको गृहकार्य पूरा गरेर पठाउनुपर्छ । सातामा एकपटक सामूहिक छलफल हुन्छ । त्यसैअनुसार रिसर्च पेपर बुझाउनुपर्छ ।’ कक्षामा सहभागी सबै विद्यार्थीको तालिका उस्तै रहेको उनले सुनाए । उक्त युनिभर्सिटीमा १० जना नेपाली विद्यार्थी छन् ।

सिन्धुपाल्चोकका पवन गोले पनि हुनान युनिभर्सिटीमै पढ्छन् । हिउँदे बिदामा स्वदेश फर्किएका उनी यतिखेर ललितपुरको सातदाबाटोस्थित डेरामा बसेर अनलाइनमा पढ्दै छन् । ‘चिनियाँ भाषा र संस्कृति’ पढिरहेका उनी स्नातक चौथो तथा अन्तिम वर्षका विद्यार्थी हुन् । गाउँमा बस्दा इन्टरनेट समस्या हुने भएकाले उपत्यकामै बस्नुपरेको उनले बताए । ‘सोमबार र शुक्रबार दुई दिन अनलाइनबाट पढ्दै छौं,’ उनले भने ।

काठमाडौं चौमतीका विश्वास श्रेष्ठ युन्नान युनिभर्सिटीमा स्नातक तह ‘लजिस्टक म्यानेजमन्ट’ विषय पढ्छन् । यतिखेर घरमै बसेर चारवर्षे कोर्सको छैटौं सेमेस्टर अनलाइनमार्फत पढ्दै छन् । ‘विच्याटमार्फत् साता तीनवटा कक्षा पढ्दै छु,’ युनिभर्सिटीले अर्को सूचना जारी नभएसम्म चीन नआउन जनाउ दिएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘भिसा धेरै बाँकी रहेकाले कुनै चिन्ता छैन । पढाइ निरन्तर जारी छ । हामी बसेको ठाउँ कुन्मिन सहरको जनजीवन सामान्य भइसकेको छ । सम्भवतः चाँडै युनिभर्सिटीले बोलाउनेछ ।’

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक भूप धमलाका अनुसार चीनको युनिभर्सिटीमा औपचारिक रूपमा पढाउन जाने शिक्षक सुवेदी र अधिकारी दुई जना मात्र हुन् । व्यक्तिगत पहलमा जाने अरू पनि हुन सक्ने उनले बताए । चीनका विभिन्न युनिभर्सिटीमा पढ्दै गरेका नेपाली विद्यार्थीको तथ्यांक भने यकिन छैन ।

चीनमा कोरोना भाइरस फैलिएपछि त्यहाँका युनिभर्सिटीले आफ्नै होस्टलमा बसेका शिक्षक र करोडौं विद्यार्थीलाई कक्षा कोठामा होइन, यसैगरी अनलाइनमा पढाउने तथा पढ्ने व्यवस्था गरेका छन् । नेपालमा विद्यमान ११ विश्वविद्यालयमध्ये नेपाल खुला विश्वविद्यालय (एनओयू) ले मात्र औपचारिक रूपमा खुला मोडबाट भर्चुअल कक्षा सञ्चालन गर्दै आएको छ । अन्य विद्यालयले नियमित कक्षाकै आधारमा पठनपाठन सञ्चालन गर्दै आएका छन् ।, समाचार कान्तिपुर दनिकमा प्रकाशित छ ।