काठमाडौं । “खेल यस्तो हो जहाँ पसिना नै गहना बन्छ यहाँ, जित हार त भाग्यको कुरा, मनले जित्यो भने खेल सधैं हाम्रो हुन्छ ।” यो पंक्ति केवल शब्द होइन, नेपाली खेलाडीहरूको आत्मबल, परिश्रम र समर्पणको सजीव प्रतिनिधित्व हो ।
नेपाली गीत–संगीतमा खेलसँग सम्बन्धित गीतहरू सामान्यतया कम बनाइन्छन् । तर यसै क्रममा, हालै खेल सम्बन्धि ‘हामी छौं खेलको मैदानमा’ गीत सार्वजनिक भएको छ ।
मूलत: यो गीत ‘हामी छौं वर्ल्ड कपमा’ शीर्षकमा एक वर्ष अघि जब नेपाली क्रिकेट टोलीले पहिलोपटक वल्र्ड कप खेल्ने अवसर पाएको थियो त्यो बेला सार्वजनिक गरिएको गीतको परिमार्जित र विस्तारित संस्करण हो । उक्त गीत खेलाडीहरूको मनोबल, आत्मविश्वास र खेलमा लगाएको मेहनतको सम्मान स्वरूप तयार गरिएको गीत थियो ।
अहिले यो गीतको परिमार्जित र विस्तारित संस्करण पुन: प्रस्तुत गरिएको छ । जसमा यो गीत केवल एक खेलका खेलाडीका लागि मात्र नभई, हरेक खेलका खेलाडीको मेहनत, पसिना र भाग्यको संग्रामलाई सम्मान गर्ने दृष्टिकोणले तयार गरिएको छ ।
गीतको संस्करण Vysion Official YouTube Channel मा हेर्न र सुन्न सकिन्छ ।










