२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिलिमिली बत्तीले चम्किएको धरान



अ+ अ-

धरान, (सुनसरी) । ‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ । देशका अन्य सहरमा जस्तै यहाँ पनि हरेक घरघरमा झिलिमिली बत्ती बालिएका छन् । हरेक सडकका गल्लीमा फूलमालाको सुगन्ध फैलिएको छ । रातिको समयमा बत्तीले शोभा बढाएको देखिन्छ भने दिउँसो बजारको किनमेल र चहलपहलले रौनक थपेको छ ।

तिहारलाई फूल, रङ्ग र उज्यालोको पर्व हो । नेपालीका घरघरमा दियो, बत्ती बाल्ने पुरानै चलन हो । समय बदलिएसँगै पछिल्लो समय माटाको दियो र मैनबत्तीको स्थान आधुनिक बत्तीले लिएको छ । यसले विद्युतीय बत्तीको माग बढेको छ । माटोका दियो र मैनबत्ती विरलै देख्न पाइन्छ । व्यवसायी सुलिन श्रेष्ठ पनि परम्परागत दियो र मैनबत्ती करिब विस्थापित भइसकेको बताउनुहु्न्छ ।

उहाँ भन्नुहुन्छ,“पहिले पहिले दियो र मैनबत्ती नै बाल्ने चलन थियो, केही समययता विद्युत र विद्युतीय सामग्रीको पहुँच भएसँगै ती सामान विस्थापित भइसकेका छन् । तिहार सुरु भएसँगै झिलिमिली विद्युतीय बत्तीको बिक्री धेरै हुन्छ । यसबीचमा दैनिक रु ५० हजारदेखि रु ६० हजारसम्म बत्ती र सजावटका सामग्री बिक्री हुन्छन् ।”

घर, पसल र कार्यालयमा रातभर उज्यालो पार्ने चलन बढेको छ । यसले विद्युतीय बत्तीको व्यापार बढी फस्टाएको छ । हाल रु ३० देखि रु २० हजारसम्मका फरक फरक ‘डिजाइन’ का बत्ती बजारमा उपलब्ध छन् । श्रेष्ठले भन्नुभयो,“हाल धरानका हरेक गल्लीमा झिलिमिली बत्ती टाँगिएका छ, हरेक घरका छतमा झुण्ड्याइएका छन् । यही उज्यालोमा युवायुवतीहरू सेल्फी लिँदै गरेको देखिन्छन् । सामाजिक सञ्जालमा धरानका दृश्य सेयर भइरहेका छन् । देउसी—भैलो खेल्ने समूहले घर घरमा पुगेर सङ्गीत र नृत्यको माधुर्य फैलाइरहेका छन ।”

अर्का बत्ती व्यापारी कृष्ण यादव धरानमा हरेक वर्षजसो नयाँ नयाँ स्वरुप र शैलीका बत्तीको माग बढिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“सामाजिक सञ्जालबाट विश्वको अभ्यास हेर्ने मिल्छ, अनि तस्बिर र भिडियो देखाएर यस्तै चाहियो भनेर आउँछन् । यस वर्ष नयाँ डिजाइनका एलइडी स्ट्रिङ, रिमोट कन्ट्रोल बत्ती र नयाँ खालको झिलिमिलीको माग बढेको छ । ग्राहकहरू अब बत्ती मात्र होइन, डिजाइन र रङको मिलान हेरेर तिहारका लागि सामान खरिद गर्छन् । घरको झ्याल, छत र बगैँचासम्म बत्ती सजाउने चलन बढेको छ ।”

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडा गत वर्षको तुलनामा यस वर्ष तिहारको व्यापारमा वृद्धि भएको बताउनुहुन्छ । मिठाई, फूलमाला, झिलिमिली बत्ती र अन्य सजावटका सामग्रीको बिक्री करिब २० प्रतिशतले बढेको अनुमान रहेको उहाँको भनाइ छ ।

“हरेक घरमा झिलिमिली बत्ती र सजावटको आकर्षण बढेको छ । यसले बजारमा आर्थिक गतिविधि पनि बढेको छ”, उहाँले भन्नुभयो,“फूल, माला, बत्ती र उत्सव मिलनले धरान साँच्चिकै उज्यालो सहर बनेको छ । सांस्कृतिक र आर्थिक दृष्टिले पनि तिहारले धरानलाई नयाँ ऊर्जा र चमक दिएको छ ।” रासस