२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौं कोरोना संक्रमित युवतीको उपचार बागलुङमै सुरु



अ+ अ-

बागलुङ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको धौलागिरी अञ्चल अस्पतालमै उपचार सुरु भएको छ । उहाँको अवस्था सामान्य रहेकाले अञ्चल अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गर्न थालिएको हो ।

अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । उहाँलाई शनिवार राती अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट आईसोलेसन वार्डमा ल्याएको छ । ‘अवस्था सामान्य रहेकाले बाहिर लैजानु पर्दैन भन्ने माथिको निर्देशन आयो’, गुरौले भन्नुभयो, ‘हामीसँग उपलव्ध सेवा पाउने गरी अस्पताल भर्ना गरिएको छ ।’

बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया उहाँलाई कोरोना भाइरसको संक्रमण भएको शनिवार पुष्टि भएको थियो । उहाँ बागलुङ नगरपालिका–४ की वासिन्दा हुनुहुन्छ । कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते विहान त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा झरेकी उहाँ सोही दिन नै बागलुङ आइपुग्नुभएको हो ।

कोरोना भाईरस पुष्टि भएपछि उहाँको उपचार गर्ने बिषयमा शनिवार दिउँसोदेखि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निकै लामो समय छलफल गरेको थियो । सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउने बिषयले प्रबेश पाएको बैठकले दोस्रोमा क्षेत्रीय अस्पताल पोखरा र अन्तिममा अञ्चल अस्पतालमानै उपचार गर्ने निर्णय गरेको हो । गृह, स्वास्थय लगायतका मन्त्रालयसँगको परामर्श पछि जिल्ला सदमुकामकै अस्पतालमा उपचार गर्ने निस्कर्षमा पुगेको गुरौले बताउनुभयो । उहाँलाई थप समस्या भएमा भने पोखरा वा काठमाडौं पठाईने छ ।