काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले आज पाटनको मंगलबजारमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले देशलाई लोकतान्त्रिक मार्गमा अघि बढाउन निर्वाचनको विकल्प नभएको पनि बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको स्मरण गर्दै यसमा सहयोग गर्न आग्रह गर्नुभयो । सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले जेन–जीको भावनाअनुसार सरकारले काम गर्ने भएकाले समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका उत्तिकै हुने भएकाले सरकारसँग सहकार्य गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाले तत्कालीन समयमा नेपाली जनतालाई गरेको सहयोग प्रसंसनीय भएको बताउनुभयो । ‘आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो ।’ उहाँले भन्नुभयो ।
यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि सबैको सुझावअनुसार काम गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।










