२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सिमा क्षेत्रमा सयौ नेपाली अलपत्र, खुला आकाशमुनि भोकभोकै बस्न बाध्य



अ+ अ-

काठमाडौं । सरकारले सीमा बन्द गरेपछि भारतीय भूमि धार्चुलामा सयौ नेपाली अलपत्र परेका छन् । भारतको मिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका ४५० बढी नेपाली अलपत्र परेका हुन् ।

अलपत्र नेपालीहरुले ३ दिनदेखि नेपाल प्रवेश पाउनुपर्ने भन्दै महाकाली पुलपारि नाराबाजी गरिरहेका छन् । लकडाउनपछि फर्किएका ४५० बढी नेपाली नेपालपारि धार्चुलामा रोकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले स्वीकारेका हुन् । प्रजिअ पौडेलका अनुसार सीमापारि फसिरहेकामा दार्चुलाका अलावा बैतडी, बझाङलगायत नागरिक छन् । जिल्लाका फर्किएका नेपालीका लागि आवश्यक पर्ने क्वारेन्टाइनको व्यवस्था नहुँदा चाहेर पनि तिनलाई प्रवेश दिन नसकिएको उनले बताए ।

फर्किएकाको व्यवस्थापनको पाटो क्लियर भएपछि नेपालतर्फ प्रवेश दिने तयारी प्रशासनको छ । त्यसका लागि सोमबार बिहान १० बजे जिल्लाका सरोकारवालासँग छलफल गर्न लागिएको जानकारी प्रजिअ पौडेलले दिए ।

दर्जनौंको संख्यामा सीमापारि अलपत्र परेपछि उनीहरूले प्रवेश पाउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् । सीमामा रोकिएका नेपालीले खुला आकाशमुनि खाली पेट घण्टौं बिताएको गुनासोसमेत गरेका छन् । तर, प्रजिअ पौडेल भारतीय पक्षले खानपान र बसोबासको व्यवस्था मिलाएको बताउँछन् ।