२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ गभर्नर सिफारिस समिति बन्यो, कसले मार्ला बाजी ?



अ+ अ-

काठमाडौं । चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर सिफारिस समिति बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराईसहितको तीन सदस्य समिति बनेको हो ।

चैत ५ गतेबाट राष्ट्र बैङ्कमा गभर्नरको पद खाली भएको छ । सरकारले एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने कानुनी व्यवस्था भए पनि त्यसलाई पालना गरेको देखिएन । अर्थमन्त्री डा. खतिवडाले चैत ५ गते अघि नै गभर्नर आउने बताए पनि त्यो हुन सकेन । नयाँ गभर्नर सिफारिस समिति नै चैत ९ मा बनेको छ ।

केन्द्रीय बैङ्कको जिम्मेवारी अहिले कामु गभर्नर चिन्तामणि सिवकोटीले सम्हालेका छन् । १८ वर्षको अवधिमा सिवाकोटी कार्यबाहक गभर्नरको जिम्मेवारी पाउने दोस्रो व्यक्ति हुन् । यस अघि कृष्णबहादुर मानन्धरले करिब २२ महिना कार्यबाहक गभर्नरको जिम्मेवारी सम्हालेका थिए ।

उनी गभर्नरका लागि दौडमा पनि छन् । वर्तमान अवस्थामा पनि अर्थमन्त्री डा. खतिवडा कार्यबाहक गभर्नर सिवाकोटीलाई गभर्नर बनाउने पक्षमा छैनन् । तर, प्रधानमन्त्री ओलीले सिवाकोटीलाई गभर्नर बनाउन चाहेका छन् ।

कायमुकायम गभर्नरको जिम्मेवारी पाउने सिवाकोटी दोस्रो, के पूर्ण गभर्नर बन्लान ?

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका कारण मन्त्रीपरिषद् बैठक बस्न सकेको थिएन । त्यसले गर्दा गनर्भर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्य सिफारिस समिति बन्न सकेको थिएन । अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र त्यहाँबाट एक जनालाई गभर्नर बनाउने व्यवस्था ऐनमा छ । सो ऐनमा सिफारिसमा पर्ने तीन जना मध्ये एक जना डेपुटी गभर्नर हुनैपर्ने व्यवस्था छ ।