२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ८७ जना आइसोलेसनमा, नमूना परीक्षण ल्याबहरु सातै प्रदेशमा



अ+ अ-

काठमाडौंः

प्राणघातक कोरोनाभाइरसको महामारीबाट नेपाललाई जोगाउने उद्देश्य सहित देश यतिबेला लकडाउनमा छ । पछिल्लो समय विदेशबाट फर्किएका व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिएको भए पनि एकिनसाथ यति मानिसमा कोरोना संक्रमण छ भन्ने आँकलन गर्न कठिन भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर एक हजार ६० वटा टेस्ट गरिएको र अहिले ८७ जना आइसोलेसनमा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबार ब्रिफिङ गर्दै टेकुमा १० जना र उपत्यका बाहिर प्रदेश स्तरमा ७७ जनालाई आइसोलेसनमा राखिएको जानकारी दिए । यी व्यक्तिको कोविड–१९ को नमूना परीक्षण भइरहेकाले कोरोना संक्रमण भए नभएको स्पष्ट भइसकेको छैन । प्रवक्ताका अनुसार उनीहरुको रिपोर्ट एक दुई दिनभित्रै प्राप्त भइसक्ने छ ।

उनले नेपालमा हालसम्म ४ जनालाई कोरोना भएको पुष्टी भइसकेको र उनीहरुको उठबस, खानपान समेतका विषयहरु खोजतलास गर्ने कार्य भइरहेको र तीमध्ये २ व्यक्तिको “कन्टाक्ट ट्रेसिङ” सम्पन्न भएको बताए । बाँकी २ जनाको पनि “कन्टाक्ट ट्रेसिङ” कार्य ८० प्रतिशत सकिएको छ । यस अन्तर्गत संक्रमित व्यक्ति, उनीहरुका आफन्त, वरिपरिका मानिसहरु, परिवारका सदस्यहरु खोजी गरेर समेतका व्यक्तिको ट्रेसिङ गरिन्छ ।

प्रवक्ता देवकोटाले सातै प्रदेशमा पिसिआर मेसिन सहितको ल्याब स्थापना गर्ने कार्यलाई तिब्र बनाइएको बताए । उनले प्रदेश १ को धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब स्थापना भई संचालनमा आइसकेको, पोखरामा मेसिन जडान कार्य सम्पन्न भएको पनि जानकारी दिए । धनगढीमा पुगिसकेको, जनकपुरमा आजै पुग्ने, बुटबल र सुर्खेतमा जानेक्रममा रहेको पनि उनले बताए ।

उनले भने– हरेक प्रदेशमा १३०० देखि १५०० थान पिपिई मौज्दात रहेको बताए । सबै प्रदेशमा यी सामग्री पुगेका छन् । स्वास्थ्य सेवा विभागमा पर्याप्त मौज्दात रहेका छन् । कल सेन्टर पनि सुचारु छन् । २४ घण्टामा १८०६ जनाको कललाई जवाफ दिइएको छ ।

पाटन र बीर अस्पतालमा मृत्यु भएका दुबै व्यक्तिको नमूना परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको उनले बताए ।

प्रवक्ता देवकोटाले ज्वरो आउनासाथ कोरोनाको संक्रमण भन्न नसकिने भएकाले निजी तथा सार्वजनिक दुबै किसिमका अस्पतालले बिरामीको उपचार गर्न आग्रह पनि गरे ।

स्वास्थ्य मन्त्रालयले हाल तीन किसिमको रणनीति अपनाएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । पहिलो, क्वारेन्टाइनलाई थप प्रभावकारी बनाउने । दोस्रो, नमूना परीक्षणको दायरा बढाउने । तेस्रो, अस्पतालको तयारी र व्यवस्थापन । यी तीनै रणनीतिहरु मुख्यतः बाहिरबाट नेपाल आएका व्यक्तिहरुमा बढी केन्द्रित हुने पनि उनले बताए ।