काठमाडौँ । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ । राखेपमा बिहीवार एक कार्यक्रमकाबीच राखेप र प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकहरूलाई आवश्यकताअनुरूप विशेष सेवा दिन सम्झौता गरेका छन् । राखेपका सदस्यसचिव टंकलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ । यो सम्झौता पाँच वर्षको हुने र पछि नवीकरण हुने सक्नेगरी अगाडि बढाइएको छ ।
नेपाली खेलकुद विकासमा थप टेवा पुग्नेगरी कुल ११ वटा शर्तहरूसहित सहकार्य भएको राखेप र न्याम्सले जनाएका छन् । वीर अस्पतालले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ । उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन् । खेलाडीहरूले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन् । ल्याब टेस्ट, ओपिडी, एक्सरे, भिडियो एक्सरे, अपरेसन, एमआरआई, सिटी स्क्यान र विराम भर्नालगायत सबै प्रकारका सेवाहरूमा अस्पतालको मूल्य सूचीबाट खेलाडीहरूले छुटसमेत प्राप्त गर्नेछन् । अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन् ।
त्यस्तै एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ । राखेपको सम्पर्क अधिकृतले प्रमाणिकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिनेछन् । छुट बाहेकको रकम भने राखेपले नै व्यहोर्ने सम्झौतामा उल्लेख छ । बिल भरपाईका लागि बढीमा एक महिनाको समय अवधि तोकिएको छ । उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्य सम्बन्धि शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियो थेरापी र पोषणा सम्बन्धि विभिन्न कार्यक्रम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले दिने सहमति भएको छ ।
यो सहकार्यलाई बलियो बनाउने राखेप र प्रतिष्ठानले एक सम्पर्क अधिकृत नै तोक्ने भएका छन् । उक्त कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन् । घिसिङले अन्तरसरकारबीच निकाय बिचको सहकार्य त्यति मजबुत नभएको अवस्थामा राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नयाँ र सुखद सन्देश दिने उद्देश्यले यो सहकार्य गरिएको बताएका छन् । नेपालमा यी दुई संस्थाको अस्तित्व भइरहँदा सम्म सहकार्य होस् भन्ने आफ्नो चाहना रहेको उनले आशा व्यक्त गरेका छन् ।
राखेपले सञ्चानल गरेको मिसन–२६ लगायत राष्ट्रिय टिमको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङको भनाइ छ । राखेपले राष्ट्रिय टिमका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उनको विश्वास छ । यो सम्झौता खेलकुदको वृहत्तर पक्षलाई समेटेको उनले बताएका छन् । फास्ट ट्य्राकमा खेलाडीले उपचार पाउन भन्ने उद्देश्यले फोकल पर्सन पनि राखिएको उनको भनाइ छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताएका छन् । उनले स्वस्थ्य रहन खेलकुद नै सबैभन्दा बलियो माध्यम रहेको उल्लेख गरेका छन् । उपकुलपति प्रा. डा. भूपेन्द्रकुमारले यो शुरुवात मात्र भएको र आगामी दिनमा यो सहकार्य बढाउँदै लैजाने आशा व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित मेहता, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. दिलिप शर्मा, रस्टिचार डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टलगायतको उपस्थिति थियो । सो अवसरमा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. शर्माले सकेसम्म खेलाडीलाई सहज तरिकाले सेवा पाउने उद्देश्यले सम्पर्क अधिकृत राखिएको बताएका छन् । आगामी दिनमा खेलाडीको सुविधाका लागि सेवा विस्तार गर्दै लैजान सकिने डा. शर्माको भनाइ छ ।










