काठमाडौं । प्रतिनिधि सभा विघटनबारे दलहरूको धारणा लिन सभामुख देवराज घिमिरेले सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा बुधबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।
छलफलमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका श्याम घिमिरे, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका ज्ञानेन्द्र शाही, नेकपा एसका राजेन्द्र पाण्डे, जसपाकी रेखा यादवलगायत सहभागी छन् ।
तर उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भने सहभागी भएन ।
सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग संसद् विघटनसम्बन्धी राय र सुझाव लिन बैठक आयोजना गरेका थिए । तर रास्वपाबाट कुनै पनि प्रतिनिधि उक्त छलफलमा उपस्थित नभएका हुन् ।
रास्वपाका नेता सन्तोष परियारका अनुसार पार्टीको सचिवालय बैठक बिहान ११ बजे नै तोकिएको भएकाले सभामुखको बैठकमा सहभागी हुन नसकिएको बताए । “पार्टीको बैठकका कारण उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराइसकेका छौं,” उनले भने । रास्वपाको सचिवालय बैठक पनि सोही समयमा बस्दैछ ।










