काठमाडौं । हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या गरिएको पुष्टि भएको छ ।
स्रोतका अनुसार इजरायलस्थित सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्ट अनुसार विपिनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको देखिएको हो ।
अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले हमासले हस्तान्तरण गरेको शवलाई इजरायली सैनिक अस्पताल पुर्याई डीएनए परीक्षण गराएको थियो । उक्त परीक्षणबाट शव विपिन जोशीकै भएको र उनको मृत्यु प्राकृतिक नभई हत्या गरिएको निष्कर्ष निकालिएको हो ।
यद्यपि, यसबारे इजरायलस्थित नेपाली दूतावासले औपचारिक रूपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले समेत अहिलेसम्म आधिकारिक जानकारी नपाएको बताएका छन् ।
स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई विपिनको डीएनए परीक्षणको औपचारिक प्रतिवेदन पठाउने तयारी भइरहेको छ । त्यसपछि मन्त्रालयमार्फत सार्वजनिक घोषणा गरिने अपेक्षा गरिएको छ ।
२२ वर्षीय नेपाली विद्यार्थी जोशी हमासको आक्रमण हुनुभन्दा तीन हप्ताअघि मात्र कृषि तालिमका लागि इजरायल पुगेका थिए । उनी किबुट्ज अलुमिममा रहेका बेला अपहरणमा परेका थिए । आक्रमण हुनुअघि उनले त्यहाँका थाई कामदारहरूसँग शरण लिएको एउटा तस्बिर सार्वजनिक भएको थियो ।
त्यसयता विपिनको अवस्था अज्ञात रहँदै आएको थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीहरूले उनको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेका थिए ।










