काठमाडौँ । इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले गत वर्ष हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, आइडिएफका अधिकारीहरूले केहीबेरअघि विपिनको परिवार र इजरायलस्थित नेपाली दूतावाससँग भिडिओ कन्फरेन्समार्फत जानकारी दिएका हुन् ।
भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट जोडिएका थिए, भने परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र इसरायली डिफेन्स फोर्सका अधिकारी सहभागी थिए ।
राजदूत पण्डितका अनुसार, आइडिएफका अधिकारीहरूले हमासले केही समयभित्र बाँकी रहेका जीवित बन्धकलाई छोड्ने तयारी भइरहेको पनि जानकारी दिए । मृतक मध्ये कतिपयको शव भने अझै फेला परेको छैन ।
यसैबीच, परराष्ट्र मन्त्रालयले भने आइडिएफको भनाइलाई औपचारिक पुष्टि नभएको आंकलनका रूपमा लिएको बताएको छ ।
गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणका क्रममा नेपालका विद्यार्थीहरू अध्ययनरत इजरायलको दक्षिणी क्षेत्रमा रहेका थिए । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी अपहरणमा परेका थिए ।










