४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

सरकारी सेवा छाडेर कार्की बने सफल उद्यमी

सरकारी सेवा छाडेर कार्की बने सफल उद्यमी
अ+ अ-

धरान । करिब नौ वर्षसम्म नेपाल प्रहरीमा सेवा दिएका भरत कार्कीले सरकारी जागिर छाडेर कृषि व्यवसायमा हात हालेपछि अहिले एक सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ । सानो लगानीबाट सुरु गरिएको उहाँको व्यवसाय आज करोडौँ रुपैयाँको कृषि उद्यममा रूपान्तरण भएको छ ।

विसं २०३६ मा ओखलढुङ्गामा जन्मिनुभएका कार्की २०५७ सालदेखि सुनसरी जिल्लाको रामधुनी नगरपालिका–५ मा स्थायी बसोबास गर्दै आउनुभएको छ । प्रहरी सेवाबाट राजीनामा दिएपछि उहाँ २०६३ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो ।

करिब तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाउँदै उहाँले लामो समय मासुपसल सञ्चालन गर्नुभयो । सोही अनुभवका आधारमा कृषि तथा पशुपालन व्यवसायमा सम्भावना देखेर व्यावसायिक रूपमा अघि बढ्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

विसं २०७० मा ‘सुनसरी एग्रो मिक्स फार्म’ स्थापना गर्नुभएको उहाँले २०७४ सालमा पुनः ‘झुम्का अर्गानिक कृषि फार्म’ दर्ता गर्नुभयो । हाल उहाँले झण्डै चार बिघा क्षेत्रफलमा आधुनिक शैलीमा सुँगुर, कुखुरा र बाख्रापालन गर्दै आउनुभएको छ । साथै, अन्य चार बिघा जमिनमा धान, मकैलगायत अन्नबालीसमेत गर्दै आउनुभएको छ ।

विदेशमा काम गर्दा धेरै मेहनत गरेर कमाए पनि खासै बचत नहुने अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “त्योबेला लाग्थ्यो आफ्नै देशमा पसिना बगाएर काम गर्दा त्यसको प्रतिफल पनि आफ्नै हातमा पर्छ ।” त्यही सोचले तीन वर्षको वैदेशिक बसाइपछि स्वदेश फर्केर व्यवसाय सुरु गर्नुभयो । कार्कीले भन्नुभयो, “व्यवसाय सुरु गर्दा विभिन्न सानातिना चुनौतीको सामना गर्नुपरेको थियो । ‘‘पशुपालनसम्बन्धी प्राविधिक ज्ञान थिएन, बजारको अवस्था पनि स्थिर नहुनु कहिले राम्रो उत्पादन हुन्थ्यो, तर बिक्री मूल्य नपाइने समस्या थियो”, उहाँले भन्नुभयो, “तर सिक्दै जाँदा व्यवसायमा टिकाउपन आयो । परिवारको साथ र सहयोगले पनि धेरै सहज भयो ।”

उहाँले सुरुमा दुई/तीन सय लेयर्स कुखुराबाट व्यवसाय थालनी गर्नुभएको थियो । विस्तारै सुँगुर र बाख्रापालनतर्फ पनि लगानी विस्तार गर्दै जानुभयो । अहिले फार्ममा करोडौँको लगानी भइसकेको उहाँले बताउनुभयो । तालिमबिनै व्यवसाय सुरु गरे पनि काम गर्दै जाँदा सिके उहाँले भन्नुभयो, “विभिन्न स्रोतबाट तालिम लिँदै आधुनिक कृषि प्रणालीको ज्ञान प्राप्त गरेँ । अहिले व्यवसाय सन्तोषजनक छ ।”

गत १७ गतेको वर्षाले फार्ममा ठूलो क्षति

धरानबाट बग्ने सर्दु खोलामा आएको बाढीले फार्ममा ठूलो क्षति पुर्‍यायो गत असोज १७ गते शुक्रबारदेखि लगातार परेको अविरल वर्षापछि आएको बाढीले फार्ममा रहेका २०० भन्दा बढी सुँगुर बगाएर लगेको उहाँले जानकारी दिनुभयो । कार्कीका अनुसार फार्ममा झण्डै ३०० भन्दा बढी सुँगुर थिए । तर १८ गते राति एक्कासि आएको बाढीले ठूला माउ सुँगुरदेखि साना पाठासम्म गरी २०० भन्दा बढी सुँगुर बगाएर लग्यो अहिले फार्ममा करिब ७० वटा सुँगुर मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।

बाढीका कारण ४० भन्दाबढी साना पाठा सुँगुर पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका धेरै सुँगुर बगाएर लगिएको उहाँले बताउनुभयो । तिहारका लागि बिक्री गर्न तयारी अवस्थामा राखिएका सुँगुरसमेत बगाएर लगेपछि आर्थिक क्षति झनै बढेको छ ।

चट्याङसहित भारी वर्षा सुरु भयो सुँगुरहरू आत्तिएर खोर नाघेर खोलातर्फ हाम फाल्न थाले उहाँले भन्नुभयो, “त्यसबेला हामी फार्मको पारीपट्टी थियौँ, हेरिरहनुबाहेक केही गर्न सकिएन । खोलातर्फ बग्ने क्रममा फार्मको झाडी र ढोकामा अड्किएका केही सुँगुर मात्रै अहिले बाँकी छन् ।” सर्दु खोला बग्ने नदीकै छेउमा फार्म भएकाले अत्यधिक बहावसहितको बाढी फार्मभित्र छिरेको थियो । चट्याङको आवाजले सुँगुरहरू झन आत्तिएर आफैँ खोर नाघेर नदीमा हामफालेको उहाँको भनाइ छ ।

बाढीपछि फार्मको भौतिक संरचना मर्मत तथा व्यवस्थापन सुधारको काम सुरु गरिएको कार्कीले बताउनुभयो । फार्मको सिँचाइ, बाढी नियन्त्रण र निकास व्यवस्थालाई प्राथमिकतामा राखेर पुनःस्थापनाको काम अगाडि बढाएको उहाँले बताउनुभयो । “देशमै पनि कृषि व्यवसाय गर्न सकिन्छ भन्ने सोचका साथ मैले वैदेशिक रोजगारीबाट फर्केर यही क्षेत्रमा लागेँ”, उहाँले भन्नुभयो, “फार्ममा अहिले सुँगुरसँगै कुखुरा र बाख्रापालन पनि गर्दै आएको छु ।” उहाँका अनुसार फार्मको उत्पादनबाट मासुका लागि तयार सुँगुर र पाठा दुवै बिक्री गरिन्छ । मासु उत्पादनसँगै पाठा बिक्री गरेरसमेत आम्दानी लिने गरेको उहाँले बताउनुभयो ।

उहाँले कृषिबाट कार्की आफूले मात्र कमाउनु भएको छैन, अरुलाई पनि रोजगारी दिनुभएको छ । अहिले फार्ममा १६ जनालाई रोजगार मिलेको छ । कार्की भन्नुहुन्छ, “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चीकै सन्तोषको विषय पनि रहेछ कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावना नै छैन भन्ने भाष्य गलत हो ।” विदेश पलायन हुनुभन्दा अहिले युवाले आफ्नै ठाउँमा पसिना बगाए देश पनि समृद्ध बन्छ, परिवारलाई खानको खाँचो पनि हुँदैन । अहिले फार्ममा करिब रु २० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ कार्कीले भन्नुभयो, “सञ्चालन राम्रो भएकाले अहिले सुँगुर, कुखुरा, बाख्रालगायत सबै फार्मबाट वार्षिक रुपमा रु तीन करोडसम्म आम्दानी हुने गरेको छ ।”

कुखुरा फार्म र दाना उद्योग

उहाँले सुनसरी एग्रो मिक्स फार्मसँगै दाना उद्योगसमेत आफैँले सञ्चालन गर्दै आउनुभएको छ अहिले उहाँको फार्ममा लेयर्स हाइलाइन र लोमेन जातको ३० हजारभन्दा बढी कुखुरा पाल्नुभएको छ । कार्कीले आधुनिक प्रविधियुक्त ‘क्लोज हाउस’ प्रणाली र परम्परागत ‘डिप लिटर’ प्रविधिबाट दैनिक हजारौँ अण्डा उत्पादन गर्दै आउनुभएको छ ।

उहाँका अनुसार फार्ममा सञ्चालनमा रहेका ‘क्लोज हाउस’ खोरको कूल क्षमता २३ हजार रहेको छ, जसबाट दैनिक करिब २० हजार ७०० भन्दाबढी अण्डा उत्पादन हुँदै आएको छ । त्यस्तै डिप लिटर प्रणालीमा रहेका दुई कुखुरा खोरको क्षमता आठ हजार रहेको छ, जसबाट दैनिक सात हजारभन्दा बढी अण्डा उत्पादन हुन्छ । दुवै प्रणालीबाट हाल दैनिक झण्डै २८ हजारभन्दा बढी अण्डा उत्पादन भइरहेको कार्कीले बताउनुभयो ।

फार्ममा उत्पादित अण्डा स्थानीय बजार इटहरी, धरान, विराटनगर, झापालगायत क्षेत्रमा आपूर्ति गरिँदै आएको छ भने केही भाग काठमाडौँसम्म बिक्रीका लागि पठाइन्छ । उहाँका अनुसार पछिल्लो समय अण्डाको बजार मूल्यमा सुधार देखिएको छ । केही समयअघि मूल्यमा गिरावट आए पनि अहिले बजार मूल्य राम्रो भएको उहाँले बताउनुभयो । कार्कीले आफैँले दाना उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । हामी बाहिरबाट दाना किन्नु पर्दैन, आफ्नै उद्योगबाट उत्पादन गरिएका दाना खोरमा प्रयोग गर्छौं, जसले उत्पादन लागत घटाउन मद्दत पुगेको छ”, उहाँले भन्नुभयो,

उहाँका अनुसार प्रारम्भिक चरणमा सीमित ज्ञानका साथ कुखुरापालन सुरु भए पनि पछिल्ला वर्षहरूमा आधुनिक प्रविधि र अनुभवले फार्मलाई व्यावसायिक मोडेलका रूपमा स्थापित गरेको छ । उहाँले भन्नुभयो, “विभिन्न जिल्लाका ठूला फार्महरू अवलोकन गरेपछि मैले बुझेँ थोरै क्षेत्रफलमा पनि आधुनिक प्रविधि प्रयोग गरेर धेरै कुखुरापालन गर्न सकिन्छ । यही सोचले मलाई आधुनिक क्लोज हाउस प्रविधितर्फ आकर्षित गर्‍यो ।”

उहाँले कुखुरा व्यवसायमा लगानी र जोखिम दुवै रहेको बताउँदै, उत्पादन लागत र बजार मूल्यबीच सन्तुलन कायम राख्न व्यवसायीका लागि चुनौती हुने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “कृषि क्षेत्रलाई दीर्घकालीन नीतिगत सहयोग, व्यवसायमैत्री बजार व्यवस्था र सरकारले प्राथमिकता दिए स्थायी रोजगारी र आत्मनिर्भरता दुवै सम्भव छन् ।”

उहाँका अनुसार व्यवसाय सुरु गर्न ठूलो पुँजीभन्दा पनि दृढ मनोबल र निरन्तर प्रयास चाहिन्छ । उहाँले भन्नुभयो, “सुरुआतमा ज्ञान सीप हुँदैन गल्ती हुन्छ, तर त्यसैबाट सिकाइ पनि सुरु हुन्छ डराएर होइन, लगनका साथ अघि बढे सफलता पक्कै पाइन्छ । जब काममा विश्वास बढ्छ, बजार आफैँ आउँछ ।”

लक्ष्य केबल नाफा कमाउने होइन, देशमै रोजगारी सिर्जना गर्ने हो । म आधुनिक प्रविधिमा आधारित स्वचालित फार्म विस्तार गर्दै, स्थानीय युवालाई तालिम र रोजगारी दिन चाहन्छु । आत्मनिर्भर कृषि व्यवसाय नै बाँकी मेरो दीर्घकालीन सपना पनि हो । स्वदेशमै इच्छाशक्ति, सीप र निरन्तरको मेहनतले सानो लगानीबाट पनि ठूला सफलता हासिल गर्न सकिने उहाँको विश्वास छ । देशभित्रै रोजगारी र आत्मनिर्भरताको बाटो खोज्ने युवाका लागि कार्कीको यो व्यवसाय एक उदाहरण प्रेरणादायी बन्न पुगेको छ ।