२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डङ्गोलको नियात्रा ‘कैलाश कोरा’ लोकार्पण



अ+ अ-

काठमाडौँ। वरिष्ठ पर्यटन व्यवसायी एवं नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ विमोचन गरिएको छ ।

नियात्राकार डङ्गोलले तिब्बतको कैलाश मानसरोवर यात्राका क्रममा भोगेका अनुभवलाई समेटेर तयार गर्नुभएको उक्त कृतिको आज स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विमोचन गर्नुभएको हो ।

एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालले आज आयोजना गरेको कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले व्यक्तिगत जीवनमा धेरै मानिसहरूले विभिन्न स्थानको यात्रा गरेपनि यात्राको अनुभवनलाई समेटेर कृति लेख्ने सर्जक कम भएका उल्लेख गर्नुभयो ।

“सरल भाषामा लेखिएको  ‘कैलाश कोरा’ कृति कैलाश घुम्न नसकेका व्यक्तिका लागि पनि कैलाश घुमेसरह हुने सामग्री भएको छ”, उहाँले भन्नुभयो । उहाँले मुलुकमा नियात्राकारको आवश्यकता औँल्याउनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार प्राडा विन्दु शर्माले उक्त कृतिले नेपाली साहित्यलाई पर्यटनसँग जोडेको बताउनुभयो । कृतिले कैलाश घुम्ने क्रममा भेटिएका गुम्बा र विभिन्न स्थानको किंबदन्तीलाई समेटेको उल्लेख गर्नुभयो ।

समीक्षक राम लोहनीले कैलाश घुम्दाका बखत आफूले देखेभोगेका कुरालाई पुस्तकमा समावेश गरिएको बताउनुभयो । कैलाश मानसरोवर यात्राका क्रममा मिलेको ऊर्जालाई लेखकले पुस्तकमार्फत पाठकसमक्ष लैजाने प्रयास गरेका उहाँले उल्लेख गर्नुभयो ।

एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका सल्लाहकार ज्योति अधिकारीले नेपालको बाटो हुँदै वार्षिक ३० हजार आन्तरिक तथा बाह्य पर्यटक कैलाश मानसरोवर जाने गरेका जानकारी दिनुभयो । उहाँले कैलाश मानसरोवर नेपालको पर्यटकीय यामभन्दा पर्यटकीय याम नहुँदा पनि जान सकिने भएकाले यो विषय नेपाली पर्यटन प्रवर्द्धनका लागि अवसरका रूपमा मानिएको बताउनुभयो ।

ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले आमपाठकलाई कैलाशयात्रा गर्न प्रेरणाको स्रोतका रूपमा पुस्तक बन्न सक्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट, होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहललगायत वक्ताले उक्त पुस्तकलाई विभिन्न भाषामा अनुवाद गरेर विदेशी बजारमा बिक्री गर्नसके नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एसोसियसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका अध्यक्ष विमल नहर्की, महासचिव प्रदीप पण्डितले उक्त कृति कैलाश यात्रामा आधारित व्यक्तिगत अनुभूित मात्र नभई सबैलाई मार्गदर्शन गर्ने सामग्रीका रूपमा रहेको बताउनुभयो । नेपालय पब्लिकेशनद्धारा प्रकाशित उक्त कृति १५८ पृष्ठको छ । रासस