काठमाडौं । संविधान र मुलुकका विद्यमान नियम कानुनले काम गरिरहेको अवस्था भइदिएको भए यी विषयमा समाचार बन्न सक्दैनथ्यो, जुन अहिले दिनप्रतिदिन भिडियोकै रुपमा सार्वजनिक भइरहेका छन् र मानिसहरुले मजा लिइरहेका छन् ।
किनभने ती विषय राज्यको सुरक्षा गोपनीयताभित्र पर्दछ र जसको प्रचार र समाचारले नै राज्यका सुरक्षा अंगहरुको मानमर्दन गर्नुका साथै सार्वजनिक शान्ति सुरक्षामै खलल पर्न गई नागरिकको शान्तिपूर्वक बाच्न पाउने अधिकारमै बाधा व्यवधान उत्पन्न हुन सक्दछ ।
ती संवेदनशील विषय हुन् पछिल्लो समय सेना र प्रहरीका । पहिलो विषय त यो छ कि मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार जलिरहँदा त्यसैको सुरक्षाका लागि बसेको नेपाली सेनाको गणले नै कुनै एक्सन लिएन ।
यस्तो विषय सहज परिस्थितिको मुलुकको हुने हो भने लेख्न, भन्न र देख्न नै बर्जित हुनुपर्दछ । किनभने मुलुकको सेनाले मुलुकभित्रै सुरक्षा दिन सकेन भन्न पाइँदैन । यसो भन्नु भनेको असफल राज्यको एउटा उदाहरण हो ।
अब यो प्रसंगलाई आन्दोलनको विषयभित्र सीमित पार्नु बाहेकको अर्काे विकल्व मुलुकसँग रहेन । देशबासीले त्यसैगरी बुझे र आफूले आफ्नो मनलाई सुरक्षित महसुुस गराए र बसे ।
तर नागरिकका मनको त्यो डरलाग्दो शृंखला अझै सकिएको छैन । पछिल्लो समय दिनदहाडै प्रहरीले कुटाई खाइरहेका दृश्य आउँदा पनि जनताको मन झसंग हुन थालेको छ ।
आज प्रहरीले नै यसरी सार्वजनिक रुपमा कुटाई खाइरहेका छन् भने हाम्रो सुरक्षा कसले गरिदेला भन्ने त्रास नागरिकका मनमा उब्जिएकै होला ।
कानुन अनुसार यसरी प्रहरीलाई सार्वजनिक रुपमै कमजोर देखाएर लेख्न, प्रचार गर्नु हुँदैन । किनभने यसबाट एक त प्रहरी संगठनकै मनोबल कमजोर बनाउँछ भने अर्कातर्फ त्यो संगठनप्रति जनताको आशा भरोसामा कमी आउन सक्छ ।
केही समयअघि एक युवकले सडकमै ट्राफिक प्रहरीलाई कुटेको भिडियो भाइरल भयो । दृश्यमा सडकमा सवारी व्यवस्थापनका लागि खटेका एकजना प्रहरी देखिन्छन्, र एक युवालाई ती प्रहरीलाई तथानाम गालीगलौज गर्दै कुटपिट गरिरहेको छ ।
प्रहरी एक्लै छन्, त्यो व्यक्तिलाई केही गर्न सकिरहेका देखिँदैनन् । अनि सडकमा रहेका अरुहरुले पनि केही भन्न सकेका छैनन् । प्रहरी प्रतिको ती युवाको व्यवहार राम्रो भएन भनेर उनीहरु भन्न सकिरहेका छैनन् ।
अघिल्लो हप्ता पनि यस्तो दृश्य देखियो कि एकजना युवकले समाचार लेख्नै नसकिने अपशब्दहरु बोल्दै प्रहरी कुटेका छन् । र पनि ती प्रहरीहरु बोल्न सकिरहेका छैनन् ।
यसरी मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी संगठनमाथि यसरी हुर्मत लिने काम भइरहेको छ । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भएको ज्यादति एवं हमलापछि नै यो संगठनको मनोबलमा ह्रास आएका टिकाटिप्पणीहरु आइरहेका छन् ।
नेपालमा प्रहरीले धेरै ठूला असहजता, अप्ठेरा र संकटहरुको सामना गर्दै आएको छ । मुलुकको सुरक्षाका लागि प्रहरीको गर्विलो इतिहास जिवीतै छ ।
मुलुकले एक दशक लामो सशस्त्र द्वन्द्व भोग्यो । तर संघर्ष गर्दै लड्यो, आत्मबल कमजोर बनाएन । तर आजको परिस्थिति मुलुकमा यस्तो बनिरहेको देखिन्छ कि त्यो भन्दा पनि बढी प्रहरीले अहिले आत्मबल गुमाएको छ ।
तर आज यो अवस्थामा पुगेको प्रहरीलाई लेखेर, दृश्यहरु देखाएर मनोबल खस्काउने काम गर्नु हुँदैन, हाम्रा प्रस्तुतिहरुले आत्मबल भर्नुपर्दछ । थप बलियो बनाउनु पर्दछ । किनभने राज्यको प्रहरी बलियो हुँदा मात्र जनता सुरक्षित र बलिया हुन्छन् भन्ने मान्यता सबै नागरिकमा हुनुपर्दछ ।
देशको सुरक्षाका लागि सुरक्षाअंगहरु उच्च मनोबलका साथ काम गर्नुपर्छ र त्यो वातावरण राज्यले निर्माण गर्नुपर्दछ । त्यसमा नागरिक बर्दीबिनाका सुरक्षाकर्मी त हुँदै हुन् । जबसम्म यो मूल्य मान्यता राज्यमा स्थापित हुन सक्दैन, त्यो राज्य सफल राज्यका रुपमा पनि रहँदैन । यतिखेर देशलाई यसैको खाँचो छ ।










