५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाईपालनबाट मनग्य आम्दानी



अ+ अ-

वालिङ । गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गर्नुभएको छ वर्ष भयो ।

छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थाल्नुभएका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा रु ५० लाख लगानी गरी व्यवसाय थाल्नुभएका बस्यालले फार्मलाई विस्तार गर्दै लैजानुभएको छ । उहाँले सुरुमा रु ५० लाखको लगानीमा केही संरचनासहित गाई र भैँसी गरी २० वटाबाट थाल्नुभएको व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजानुभएको हो । “भैँसी र होलिस्टिन गरी २० वटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनि विस्तार गर्दै लगेको छु”, उहाँले भन्नुभयो, “हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झण्डै रु डेढ करोड लगानी भएको छ ।”

फार्मबाट भएको आम्दानीलाई बर्सेनि लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उहाँले बताउनुभयो । अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने छन् । आफ्नै जग्गामा फार्म सञ्चालन गर्नुभएका बस्यालले झण्डै १०० रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाउनुभएको छ ।

“फार्मबाट अहिले दैनिक २५० देखि ३०० लिटर दूध बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो, “फामबाट प्रतिलिटर रु ६५ देखि ७० का दरले दूध बिक्री भइरहेको छ ।” बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आउनुभएको छ । फामबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले रु १५ थप अनुदान उपलब्ध गराउने भएकाले पनि सहजरुपमा मूल्य प्राप्त भएको उहाँले बताउनुभयो ।

“यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसबाट रु १५ का दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ ।” फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उहाँ हुनुहुन्छ ।

“केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ”, उहाँले भन्नुभयो, “काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु, व्यवसाय राम्रै छ ।” फार्मसम्म विद्युत्को तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उहाँले बताउनुभयो । मेसिन ल्याएर राखिएको तर पावरको कमीका कारण मेसिन सञ्चालनमा समस्या रहेको उहाँले बताउनुभयो । रासस




भर्खरै