काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ कोरोना संक्रमित नभेटिएको जनाएको छ । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत आइतबारदेखि नयाँ कोरोना संक्रमित नभेटिएको बताए ।
प्रवक्ता देवकोटाले नेपालमा कोरोना संक्रमितहरु अहिलेसम्म भेटिएका ९ जना मात्रै रहेको बताए । ९ जनामध्ये १ जना संक्रमणमुक्त भएका छन् भने अन्य ८ जनाको उपचार भइरहेको छ ।
२ जना काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी, २ जनाको बागलुङको धौलागिरी अस्पताल र अन्य ४ जनाको सेती अस्पतालमा उपचार भइरहेको छ । उनले सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन् ।