१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

बन्दाबन्दीमै सकिने भो कर्णाली घुम्ने समय

बन्दाबन्दीमै सकिने भो कर्णाली घुम्ने समय
अ अ+ अ-

प्रकाश अधिकारी, सुर्खेत । कर्णाली राजमार्ग हुँदै रारा जानेको लर्को लाग्ने बेला हो यो । अघिल्ला वर्षमा यो मौसममा यहाँका होटल भरिभराउ हुन्थे । ट्राभल एजेन्सीहरुलाई यात्रु व्यवस्थापन गर्न हम्मे–हम्मे पर्ने गथ्र्यो । सुर्खेत र नेपालगञ्ज विमानस्थलमा रारा, से–फोक्सेन्डो, सिञ्जा, लिमी भ्यालीलगायतका उपल्लो कर्णालीका मुख्य गन्तव्यका साथै सीमापारिको प्रसिद्ध हिन्दू तीर्थस्थल मानसरोवर पुग्ने पर्यटकको भीड लाग्ने गर्दथ्यो । विशेषगरी फागुनदेखि जेठसम्म कर्णाली घुम्ने उपयुक्त मौसम मानिन्छ ।

यस पटकका लागि भने यो सबै कल्पनामात्र भयो । देश नै बन्दाबन्दी (लकडाउन)मा परेपछि कर्णाली क्षेत्र नै अहिले सुनसान छ । विदेशी त के स्वदेशी पर्यटक पनि छैनन् यहाँ । यही ‘सिजन’ मा कोरोना भाइरस (कोभिड- १९)ले विश्वभर महामारीको रुप लिएपछि त्यसको मार नेपाललाई पनि परेको छ । फैलिँदो महामारीको नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न नेपालले बन्दाबन्दी (लकडाउन)को घोषणा गरेको छ । ‘लकडाउन’को प्रभाव कर्णालीका सुदूर गाउँ–वस्तीमा रहेका पर्यटकीय स्थलहरुमा पनि परेको छ । त्यसैले यहाँका पर्यटन व्यवसायीको साँझ विहानकै गुनासो छ– देशमा लकडाउन नहुँदो हो त कर्णालीको हालत यस्तो हुने थिएन, हामीलाई साह्रै मर्का परेको छ ।

यस क्षेत्रका धार्मिक आस्थाका केन्द्र सुनसान छन् । ताल तलैया, पार्क बगैंचा, भ्यू टावरहरुमा मानिसको चहलपहल शुन्य छ । मानिसको हिँड्डुल बन्द छ । प्रदेश राजधानी वीरेन्द्रनगरको प्रसिद्ध शक्तिपीठ देउतीबज्यै मन्दिरमा लकडाउन शुरु भएदेखि दर्शनार्थीलाई प्रवेश निषेध गरिएको छ । मन्दिरको मूलद्वार नै बन्द छ । देउतीबज्यै दर्शन गरे मनकामना पुरा हुने विश्वास रहिआएको छ । भीडभाड हुने स्थान भएकाले कोरोना भाइरसको जोखिम रोकथामका लागि मन्दिरमा पूजापाठ बन्द गरेको बताउनुहुन्छ पुजारी टङ्कबहादुर माझी । “मन्दिर आसपासकालाई पनि पूजापाठ गर्न दिएका छैनौँ, मन्दिर प्रवेशमा खुकुलो बनायौँ भने भीड बढ्दै जान्छ, रोक्न सकिँदैन त्यसैले मूल ढोका नै बन्द गरेका छौँ,” उहाँले भन्नुभयो, “भाइरस सङ्क्रमण सर्ने खतरा भएकाले लकडाउन अवधिसम्म पूजापाठ नै बन्द गरेका हौँ ।”

बुलबुले उद्यान नगरवासीका लागि गर्मी छल्ने उपयुक्त स्थान हो । यहाँ ताल पनि छ । अहिले तालको आकार बढाएर तेब्बर ठूलो बनाइँदैछ । यो आयोजना लकडाउन भएदेखि बन्द छ । चराको चीरबिर–चीरबिर आवाजबाहेक मानिसको चहलपहल नहुँदा बुलबुले बिरानोजस्तो देखिएको छ । विसं २०३० को दशकदेखि रेडियो नेपालबाट बारम्बार गुन्जिरहने ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ बोलको गीतले यसको प्रर्वद्धनमा टेवा पु¥यायो । त्यसैले पनि होला सुर्खेत आउनवित्तिकै बुलबुले अवलोकन आगन्तुकको पहिलो रोजाइँमा पथ्र्यो ।

लकडाउनले गर्दा ताल छेवैका स्थानीयका लागिसमेत बुलबुले नौलो भइसकेको छ । लाटीकोइलीस्थित प्रसिद्ध काँक्रेविहार क्षेत्रमा पनि लकडाउनको प्रभाव परेको छ । पर्यटकको चहलपहल छैन । मूलद्वार मै ठूलो ताल्चा लगाइएको छ । टिकट घरदेखि आसपासका चियापसल सबै बन्द अवस्थामा छन् । कोभिड–१९ को जोखिमले ‘यसपालि घुमौँ कर्णाली’ नारासहित विभिन्न प्रवद्र्धनात्मक क्रियाकलाप गरिरहेको प्रदेश सरकारको योजनामा व्यवधान खडा भएको छ । त्यसो त बन्दाबन्दीले मुलुकका सबै क्षेत्रको पर्यटन व्यवसायमा असर पु¥याएको छ । तर कर्णालीले पर्यटकलाई स्वागत गर्ने यो मुख्य मौसम भएकाले आफूले बढी क्षति भोग्नुपरेको व्यवसायीको जिकिर छ ।

पूर्वाधार निर्माण ठप्प
यही चैत ११ गतेदेखि लागू लकडाउनले मानिसको चहलपहल, आउजाउ मात्र रोकिएको छैन् पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका काम पनि ठप्प भएका छन् । काँक्रेविहार पुनर्निर्माण अन्तर्गत दोस्रो चरणको काम चालू आर्थिक वर्षमै सम्पन्न नहुने निश्चित भइसकेको थियो । कर्णाली प्रदेश सरकारको सहयोगमा पर्खाल, बगैंचा निर्माण कार्यका लागि बोलपत्र आव्हान भएपनि तत्काललाई उक्त प्रक्रिया स्थगित हुने भएको छ । प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाइएको बुलबुले क्षेत्र विस्तार कार्यक्रम रोकिन पुगेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाकाअनुसार लकडाउनका कारण पर्यटन पूर्वाधारका एक दर्जन महत्वपूर्ण आयोजना प्रभावित भएका छन् । डिभिजन वन कार्यालय मुगुले रारा तालको वरिपरि १४ किलोमिटर लम्बाई, डेढ मिटर चौडाइ भएको साइकल मार्ग बनाउने योजना शुरु गरिसकेको थियो । हाल घोडेटो बाटो मात्र रहेको र त्यसलाई व्यवस्थित गर्न रु तीन करोड लागतमा साइकल मार्ग बनाउन लागिएको थियो । साइकल मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार भइसकेको छ । सूचना अधिकारी रोकायाले अर्थ मन्त्रालयले सम्झौता भइसकेकाबाहेक अन्य आयोजना अघि नबढाउन निर्देशन दिएपछि शुरु हुनै लागेका आयोजना रोकिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गत वर्षदेखि अध्ययन भएका आयोजना अब कार्यान्वयनमा आउँदै थिए, कोभिड–१९ को महामारीले बजेट रकमान्तर गर्नुपर्ने अवस्था निम्त्यायो ।”

त्यस्तै रारा जाने पर्यटकलाई लक्षित गरेर बाटोमा दैलेखको राकमकर्णालीमा घरबास ९होमस्टे० सञ्चालन गर्ने योजना अन्तर्गत निर्माण प्रक्रिया अघि बढाइएको थियो । रारा जाँदा बाटोमा पर्यटकलाई खाने, बस्ने समस्या हुने गरेको गुनासोलाई सम्बोधन गर्न प्रदेश सरकारले घरबास (होमस्टे) कार्यक्रमलाई जोड दिएको हो । से–फोक्सेन्डो ताल परिसरमा पैदलमार्ग, दैलेखको पञ्चकोशी क्षेत्र सुधार, कोटिला ताल निर्माण लगायतका आयोजना प्रभावित हुन पुगेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्य निरन्तर भइरहेका विकास निर्माणका काम एक वर्ष पछाडि धकेलिन पुगेको बताउँदै भन्नुहुन्छ, “लकडाउनले समग्र मुलुककै अर्थतन्त्रलाई डरलाग्दो क्षति पु¥यायो नै कर्णालीमा पर्यटन पूर्वाधारका विभिन्न आयामहरु रोकिन पुगे ।” उहाँका अनुसार प्रदेश सरकारले पर्यटन गुरुयोजना बमोजिम यस वर्ष पूर्वाधारमा लगानीका साथै विभिन्न प्रर्वद्धनात्मक क्रियाकलापलाई जोड दिएको थियो । “बजेट रकमान्तर गरेर कोभिड १९ विरुद्धका प्रतिकार्यमा लगाउनुपर्ने अवस्था छ, यसले आगामी वर्षको बजेट विनियोजनमा पनि प्रभाव पर्ने भयो,” सचिव डा आचार्य भन्नुहुन्छ, “पर्यटन विकासका अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयन गर्न केही वर्ष बजेटको समस्या हुने देखिन्छ ।”

व्यवसायी सरकारले बल्ल कर्णालीको पर्यटन पूर्वाधारमा लगानी गरिरहेको बेला कोभिड– १९ विरुद्ध जुध्नुपरेको बताउँछन् । “पर्यटन क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिन्छ भन्ने तीनवटै तहका सरकारको बुझाइ रहेको थियो, यतिबेलै कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बाध्यताका कारण पर्यटन क्षेत्र पुनः ओझेलमा पर्ने भयो,” राराका होटल व्यवसायी राजु कार्की भन्नुहुन्छ, “बामे सर्न लागेको कर्णालीको पर्यटन १० वर्ष पछाडि धकेलियो ।” आगामी वर्षहरुमा प्रदेश पर्यटन गुरुयोजना अनुसार बजेट विनियोजन गर्ने प्रदेश सरकारको लक्ष्य थियो ।

सङ्कटमा होटेल व्यवसाय
सुर्खेतको भ्याली भ्यु होटलका सञ्चालक तर्कबहादुर शाही सावाँ ब्याजसहित विभिन्न बैँकहरुमा गरी मासिक रु १२ लाख किस्ता तिर्नुहुन्छ । वीरेन्द्रनगरको भ्यूटावरका रुपमा चिनिने सुर्खेत–दैलेख सडक खण्डको गढी नजिक गत वर्षदेखि सुविधासम्पन्न होटल सञ्चालन गर्नुभएको छ । जुम्लामा पर्यटकलाई लक्षित गरी जुम्ला सदरमुकाम खलंगामा रु। आठ करोड लगानीमा उहाँको अर्को होटल सञ्चालनमा आउँदैछ तर, कोभिड १९ ले निम्त्याएको सङ्कटका कारण उहाँ चिन्तित हुनुहुन्छ ।

होटेल व्यवसायी महासङ्घ नेपाल, कर्णालीका संयोजकसमेत रहनुभएका शाहीले लकडाउनका कारण प्रदेशका १० जिल्लामा करिब रु एक अर्ब व्यापार घाटा लागेको बताउनुहुन्छ । लकडाउन खुलेपनि विश्वबाटै कोरोना भाइरस अन्त्य नहुञ्जेल पर्यटन व्यवसाय सङ्कटमै पर्ने उहाँको दाबी छ । “कोरोनाको जोमिख कायमै रहेमा मानिस घुमफिर गर्न चाहँदैनन्, स्वदेशी पर्यटक पनि आउँदैनन्,” उहाँ भन्नुहुन्छ, “पर्यटकलाई लक्षित गरी खोलिएका होटल बन्द हुने खतरा देखियो ।”

कर्णाली घुम्ने सिजनमै कोरोना भाइरसको जोखिम र लकडाउन हुँदा आफुले ठूलो व्यवसायिक क्षति ब्यहोर्नुपरेको रारास्थित हेरिटेज भिलेज होटलका सञ्चालक राजु कार्कीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “फागुनदेखि जेठ–असारसम्म कर्णाली घुम्ने उपयुक्त सिजन हो, वर्षा र हिउँदमा यहाँ सम्भव छैन, विदेशीभन्दा पनि हामीकहाँ आउने स्वदेशी पर्यटक नै हुन, लकडाउनले यो मौसम त्यत्तिकै बित्यो ।” कर्णालीको पर्यटन व्यवसाय तङ्ग्रिन अझै १० वर्ष लाग्ने उहाँको ठम्याइ छ । यसपटक भारतलगायत तेस्रो मुलुकबाट फर्केकालाई राज्यले अर्गानिक कृषि उत्पादन, गाउँमै उद्यम एवम् पर्यटन व्यवसायमा आवद्ध गराउनुपर्ने उहाँको सुझाव छ ।