काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सुरु भएको छ । लगातारको वर्षासँगै गएको पहिरो पन्छाउन थालिएको हो ।
यसैगरी पृथ्वी राजमार्गका विभिन्न ठाउँमा गएको पहिरो पनि पन्छाउन सुरु भएको छ । सबैभन्दा ठूलो पहिलो फिस्लिङमा गएको छ ।
नारायणघाट–मुग्लिन सडक खण्डको तुईन खोला र काली खोलामा पहिरो खसेको छ । पहिरोले कालीखोलाको एउटा पुल पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
फिस्लिङदेखि उत्तर खण्डमा समेत स–साना पहिरो तथा ढुङ्गा खसेर बाटो अवरोध छ । ती सबै ठाउँका पहिरो हटाएपछि आसपासका जिल्लाको अवस्था हेरेर हिजो साँझदेखि रोकिएका सवारी साधनहरुलाई गन्तव्यमा पठाइने भएको छ ।
प्रहरीका अनुसार धादिङ, तनहुँलगायतका छिमेकी जिल्लाका सडक खण्डहरुमा समेत पहिरो रढुंगा खसेर बाटो अवरोध भएको र त्यहाँ पनि पहिरो हटाउने कार्य भइरहेको छ । ती सबै ठाउँको पहिरो हटाएपछि सवारी साधनलाई छाडिने छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ ६ बजेदेखि नै चितवनबाट बाहिरिने र भित्रिने सबै प्रकारका सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको थियो ।
त्यसबीचमा रोकिएका सबै सवारी साधनहरुलाई आज अवस्था हेरेर गन्तव्यमा पठाइने छ । हिजो चितवनमै रोकिएका यात्रुहरुलाई चितवन प्रशासनले सहुलियत दरमा होटलहरुमा बस्ने व्यवस्था मिलाएको थियो ।










