२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ संक्रमण रोक्न स्वास्थ्य मन्त्री ढकालको ‘टी’ रणनीति



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गरेका छन् । नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गरेका हुन् । यसअनुसार ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, ट्रेसिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् । उनले सारेको पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । मन्त्री ढकालका अनुसार उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा सक्रमण नसरोस् भन्नाका लागि गरिएको उनले स्पष्ट पारे ।

‘हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि साबित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्यांकन गर्छु’, उनले सन्देशमा भनेका छन् । यसैगरी मन्त्री ढकालले सार्वजनिक गरेको दोस्रो टेष्टिङ रणनीति हो । यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि आवश्यकताअनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा आधारमा आफूहरुले कार्यविधि बनाई व्यवस्थित गरेको जानकारी गराए ।

उनले मन्त्रालयको हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरैभन्दा धेरै व्यक्तिलाई सो दायरामा ल्याई परीक्षण गर्नु रहेको बताए । तेस्रो रणनीतिमा टे«सिङ रहेको छ । ट्रेसिङमा संक्रमित व्यक्तिका परिवार नजीकका व्यक्तिहरु जोसँग ती संक्रमित नजीकको सम्पर्कमा आएका व्यक्तिलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । मन्त्री ढकालले धेरैजसो संक्रमितहरुको ट्रेसिङ कार्य पूरा गरिसकेका भन्दै पछिल्लो समयमा पहिचान भएका संक्रमितको टे«सिङ कार्य भइरहेको जानकारी दिए । यसैगरी मन्त्रीले सार्वजनिक गरेको चौथो रणनीति ट्र्याकिङ हो । यसमा सम्भावित संक्रमित र संक्रमित व्यक्तिको एक ठाउँबाट अर्को ठाउँमा आवतजावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्र्याकिङ कार्य हो ।

उनका अनुसार यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेबसाइटमार्फत ट्र्याकिङ कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे÷नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । मन्त्री ढकालले यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको तथा स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरु खटिएका छन् । मन्त्री ढकालले पाँचौ रणनीतिमा ट्रिटमेन्टलाई लिएका छन् । यसअनुसार संक्रमित १४ जनाको उपचार भइरहेको छ । उनले सम्भावित संक्रमणको सख्या आंकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन मन्त्रालयले आफ्नो रणनीति तय गरेको जानकारी दिए ।

कोरोना संक्रमणको उपचारका लागि काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पताललाई तोकिएको भन्दै कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निःशुल्क गर्ने प्रबन्ध गरिएको बताए । ‘कोरोना संक्रमणबाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहेका बिरामी थप समस्यामा नपरून् र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेका छौँ’, उनले सन्देशमा भनेका छन् । मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न अन्तिम रणनीतिका रुपमा टुगेदरलाई लिएका छन् । कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न मन्त्रालय मात्र होइन, सिंगो देश नै लागिपरेको उनले बताए ।

उनका अनुसार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, जनसख्या मन्त्रालयमा विभिन्न तहमा कमिटी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । उनले कोभिड–१९ को थप संक्रमणबाट मुलुकलाई मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने बताए । संक्रमणको विकासक्रमसँगै यसलाई रोकथाम र नियन्त्रण गर्न आफूले पनि रणनीतिलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिए ।

यस चुनौतीको सामना हामी सबै एकजुट भई काम गरेरमात्र सम्भव छ रहेको उल्लेख गर्दै भने, ‘देशलाई महामारीबाट बचाऊँ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाइँमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।’ उनले कोरोना संक्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा नेतृत्व गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य तथा सुरक्षाको प्रत्याभूति गराउनु राज्यको पहिलो प्राथमिकता रहेकाले चिकित्सक र स्वास्थ्यकर्मीका बारेमा अत्यन्त सचेत रहेको बताए । सौर्य दैनिक