१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचवर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार



फाइल फोटो
अ+ अ-

रुपन्देही। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७७÷०७८ देखि २०८१÷०८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ । अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७÷०७८ मा एक लाख ५३ हजार ५३३, २०७८÷०७९ मा दुई लाख ८२ हजार २३७, २०७९÷०८० मा तीन लाख २८ हजार ८४०, २०८०÷०८१ मा तीन लाख २९ हजार ५११ र २०८१÷०८२ मा तीन लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो ।

अस्पतालको तथ्याङ्कअनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०८१÷०८२ मा २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको शल्यक्रिया गरिएको सहव्यवस्थापक पराजुलीले बताउनुभयो । उहाँका अनुसार उल्लिखित सेवा लिन आउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली रहेको छन् ।

सो अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (इएनटी) विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म आठ हजार बढीले यो सेवा लिइसकेका छन् ।

विसं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

यसैगरी सो अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको सूचना अधिकारी पाण्डेयले जानकारी दिनुभयो । रासस