२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती प्रदेशमा लकडाउन कडा बनाइयो, मोटरसाइकल समेत चलाउन नपाउने



अ+ अ-

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । आज (मंगलबार) देखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ । वाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको संक्रमित फेला परिसकेको अवस्थामा विभिन्न बहानामा व्यक्तिहरु बजार आउजाउ गरेका कारण लकडाउन प्रभावकारी नहुने देखिएकाले कडा बनाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिए ।

पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिएका थिए । मुख्यमन्त्री पौडेलको निर्देशनपछि बसेको जिल्ला कमान्ड पोष्ट मकवानपुरको बैठकले लकडाउनलाई कडा गर्ने निर्णय गरेको हो । प्रदेशका अन्य जिल्लामा समेत लकडाउन कडा बनाइने र संक्रमण फैलन नदिने वातावरण निर्माण गरिने प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले जानकारी दिए । ‘हामी लकडाउन कार्यान्वयनमा प्रतिबद्ध छौं र वर्तमान संवेदनशीलतालाई ध्यान दिएर लकडाउनलाई थप साँघुरो बनाउँदै जान्छौँ’ उनले भने ।

यसैबीच नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर हेटौँडाले कोरोना भाइरसको अवस्था नेपालमा आइपर्न सक्ने जोखिम र सम्भावित जोखिमको सामना गर्न गर्नसकिने कामहरुका बारेमा मुख्यमन्त्री पौडेललाई हिजो ब्रिफिङ गरेको छ । पृतनापति ताराध्वज पाण्डे, महासेनानी प्रकाशराज थापा लगायतको सैनिक टोलीले भारतमा गएको एक हप्तामा कोरोना संक्रमणको दर दोब्बर बढेको र कोरोनाका कारण मारिनेको संक्रमणसमेत बढिरहेको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावका बारेमा विश्लेषण प्रस्तुत गरेको थियो । दैनिक