एजेन्सी । बलिउडका ‘बादशाह’ शाहरुख खान विश्वकै सबैभन्दा धनी अभिनेता बनेका छन् । अक्टोबर १ मा जारी गरिएको हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार शाहरुखको सम्पत्ति १.४ अर्ब अमेरिकी डलर (झण्डै १२ हजार ४९० करोड भारु) पुगेको छ । यो सूचीमा स्थान बनाउँदै शाहरुखले आर्नोल्ड श्वार्जनेगर, टेलर स्विफ्ट, सेलेना गोमेज र टम क्रूजजस्ता चर्चित सेलिब्रिटीलाई समेत पछि पारेका छन् ।
इकोनोमिक्स टाइम्सको रिपोर्ट अनुसार शाहरुख खान १२ हजार ४९० करोड सम्पत्तिसहित भारतका सबैभन्दा धनी सेलिब्रिटी बनेका छन् । उनीपछि दोस्रो नम्बरमा जुही चावला र उनको परिवार ७७९० करोड सम्पत्तिसहित रहेका छन् भने २१६० करोड सम्पत्तिसहित ऋतिक रोशन तेस्रो स्थानमा छन् । गत वर्षको सूचीमा अमिताभ बच्चन चौथो र पाँचौं स्थानमा रहेका थिए तर यस वर्ष करण जौहरले बिग बीलाई समेत पछि पारेका छन् । करणको सम्पत्ति १८८० करोड र अमिताभको १६३० करोड छ ।
एक वर्षमै ५ हजार करोडले बढ्यो सम्पत्ति
हुरुन इन्डिया रिच लिस्ट २०२४ मा शाहरुख खानको सम्पत्ति ७३०० करोड रुपैयाँ थियो । तर, केबल एक वर्षमै उनको सम्पत्ति ५ हजार करोड रुपैयाँ बढेर १२ हजार ४९० करोड पुगेको छ ।
शाहरुख खान फिल्मको पारिश्रमिक बाहेक आफ्नो प्रोडक्सन हाउस रेड चिली इन्टरटेनमेन्ट बाट पनि ठूलो कमाई गर्छन् । साथै, ब्रान्ड एन्डोर्समेन्टबाट पनि उनी करोडौं लिन्छन् । शाहरुखकी पत्नी गौरी खान डी डेकोर की संस्थापक हुन् भने उनका छोरा आर्यन खान लक्जरी कपडा ब्रान्ड डिवयोल का मालिक हुन् । हालै आर्यनले निर्देशनतर्फ पनि कदम राखेका छन् ।
हलिउड स्टारलाई पछि पार्दै
फोर्ब्सका अनुसार अहिलेसम्म विश्वकै सबैभन्दा धनी अभिनेता आर्नोल्ड श्वार्जनेगर थिए, जसको सम्पत्ति १.२ अर्ब अमेरिकी डलर थियो । तर शाहरुखले १.४ अर्ब डलर सम्पत्तिसहित उनलाई पछि पारेका छन् ।










