२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका चार कोरोना संक्रमितमा देखिएन संक्रमणको कुनै लक्षण



अ+ अ-

कैलाली । सुदुर पश्चिममा रहेका चार जना कोरोना सक्रिमितमा कुनै पनि लक्षण नदेखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकहरुले कोरोना संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने बताउँदै आएका छन् ।

तर सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा उपचार गरिरहेका चार जनामा विगत १० दिन देखी कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएको अस्पतालका प्रवक्ता तथा आकस्मिक विभागका प्रमुख डा. जगदिश जोशीले बताए ।

‘अस्पतालमा उपचाररत अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन’ उनले भने, ‘हिजो भर्ना भएकी महिलामा पनि उच्च रक्तचाप (प्रेसर) छ अरु केही समस्या छैन ।’

वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले अस्पताल भर्ना भएकी महिला विगत देखिनै प्रेसरको रोगी भएको बताए । ‘अन्यमा केही लक्षण छैन’ उनले भने ‘ती बृद्धा पनि पहिले देखिकै प्रेसरको रोगी भएको बुझिएको छ ।’

सुदूरपश्चिम प्रदेशमा पहिलो संक्रमण देखिएका धनगढीका ३४ बर्षका युवकलाई भने अहिले सामान्य खोकी देखिए पनि उनीबाट संक्रमित भएकी उनको परिवारका सदस्य महिलामा भने त्यो लक्षण पनि नदेखिएको डा. कमरले बताए ।

कोरोना संक्रमित कैलाली लम्की चुहाका २१ बर्षका युवक र कञ्चनपुर बेटकोटका ४१ बर्षका पुरुषमा पनि अहिले कुनै समस्या र कोरोनाको लक्षण नरहेको डा. कमरले बताए ।