५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता



अ+ अ-

कञ्चनपुर। दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य विगतमा झैँ लामो समयसम्म आयोजना हुने गरेको छैन ।

परम्परागत रूपमा कृष्ण जन्माष्टमीदेखि सुरु भएर दसैँको टीकाका दिनसम्म सञ्चालन हुने सखिया नृत्य अहिले पाँचदेखि १० दिनमै सीमित हुन थालेको छ ।

थारु संस्कृतिका जानकार हवलदार चौधरीका अनुसार अघिल्ला पुस्तामा खेतीपातीमै निर्भर जीवनशैली भएकाले दसैँमा लामो फुर्सद पाइन्थ्यो र महिनौँ नाच्ने गर्दथे ।  अहिले अधिकांश युवा व्यावसायिक खेती, व्यापार, नोकरी वा परदेश रोजगारीतर्फ लागेका छन् । त्यसैले गाउँमा नाच्ने युवतीहरूको सङ्ख्या घट्दै गएको छ ।

“युवा परदेश जाँदैछन्, गीत र मादल सिक्ने परम्परा पनि पुस्तान्तरण हुन सकेको छैन, यसैले सखियाको रौनक घट्दै गएको हो”, उहाँले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ, “सखिया नृत्यमा प्रयोग हुने गीत अधिकांशलाई कण्ठ छैनन् भने मादल बजाउने सीपसमेत लोप हुँदै गएको छ, गीत र ताल पुस्तान्तरण हुन नसक्दा मौलिकता हराउँदै गएको छ ।” यस नृत्यमा सामूहिकताको भावना बलियो हुने भएकाले नयाँ पुस्तालाई संस्कृतिसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।

चौधरीका अनुसार सखिया नृत्यमा चार जना मादल बजाउने मदारी हुन्छन् । अगुवा मदारीले ताल थाल्छन् भने पछुवा मदारीले त्यसैमा ताल मिलाउँछन् । महिलाहरूलाई अगुवाइ गर्ने मोह्रिन्याको नेतृत्वमा जेठ गोहीया र पछगोहीया बनेर युवतीहरूले नृत्य गर्छन् ।

नृत्यमा प्रयोग हुने ‘पैंया’ (खोट) २२ प्रकारसम्म हुने गरेकामा अहिले मदारीहरूले नयाँ शैली सिर्जना गर्दै लयलाई परिमार्जन गरेर नृत्य पस्किने गरेको उहाँ बताउनुहुन्छ । थारु संस्कृतिका जानकार चौधरीका अनुसार पैंया मादलको तालसँगै युवतीहरूले खुट्टा र शरीरको मुद्रामा प्रस्तुत गर्ने नृत्यशैली हो । यो नृत्यको आकर्शणका रूपमा रहेको हुन्छ ।

“सखिया नृत्य कृष्णको जन्मदेखि कंश वधसम्मका प्रसङ्ग समेटिएको हुन्छ”, वरघर सुरेस चौधरीले भन्नुभयो, “दसैँको सप्तमीसम्म रातमा आयोजना हुने यो नृत्य अष्टमीको रातभर नाचिन्छ, जसलाई ‘भेडुवा जगैना’ भनिन्छ, यस दिन कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलनसमेत रहेको छ ।”

नृत्यका सहभागी युवतीहरूले रङ्गीन ऐना जडित लुगाहरू लगाउँछन् भने मदारीले सेतो धोती–कमिज धारण गर्छन् । हातमा मैजरी लिएर तालमा बजाउने महिलाहरूको सहभागिता यसलाई अझ आकर्षक बनाउँने उहाँ बताउनुहुन्छ । सखिया नृत्य नवमीको दिनदेखि दसैँको दिनसम्म दिउँसो नाच्ने गरिन्छ ।

थारु बुद्धिजीवी धनबहादुर चौधरीका अनुसार नयाँ पुस्ताले परिवर्तन खोजेकाले पनि नृत्यप्रति चासो कम देखिँदै गएको छ । “समयअनुसार सखिया नृत्यलाई ढाल्न आवश्यक देखिएको छ, संस्कृति र पर्यटनसँग जोड्न सके यसले भविष्यमा पनि महत्त्व पाउँछ”, उहाँले भन्नुभयो ।

सखिया नृत्य गाउँगाउँमा धनी–गरिब सबैका घरमा देखाइने भएकाले सामाजिक सद्भाव र मेलमिलाप कायम गर्ने माध्यमका रूपमा रहेको उहाँले बताउनुभयो । दसैँपछि नृत्यमा सहभागीलाई सामूहिक भोज (ख्यारा खाने) गर्ने परम्परा थारु समुदायमा रहेको छ ।

संयुक्त परिवारको संरचना भङ्ग हुँदै एकल परिवार बढ्नु, गाउँबाट रोजगारीका लागि बाहिरिने बाध्यता र खर्चिलो परम्परा सखिया नृत्य छोटिने प्रमुख कारण बनेको उहाँको बुझाइरहेको छ । तर यसलाई संरक्षण र पर्यटनसँग जोड्न सके मौलिक संस्कृति जगेर्ना हुने उहाँको विश्वास छ । रासस