काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल कमजोर बनेको बताउनुभएको छ ।
आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताउनुभएको हो । नेपाल आर्थिक पत्रकार संघले मंगलवार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल गार्हस्थ्र्य उत्पादन –जिडिपी)को ५ प्रतिशत नोक्शान भएको जानकारी दिनुभयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो –‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ ।’
उहाँले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उहाँको छ । उहाँका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । ‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ । केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बड्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकएिको धारणा राख्नुभयो । उहाँकाअनुसार केही महत्वपूर्ण प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी छ । उर्जा, पर्यटन, शिक्षा र कृषि लगायतका क्षेत्रमा अब काम गर्न आवश्यक छ ।










