५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् विस्तार आज हुँदै, शपथ २ बजेका लागि तय



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्मा आज पाँच जनालाई नियुक्त गर्दै छन् । नियुक्त हुने मन्त्रीलाई आजै सपथ गराउने तयारी छ ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो ५ मन्त्रीको नाम सिफारिस गरेकी थिइन् । मन्त्री नियुक्तिका लागि अनिलकुमार सिन्हा, डा. संगीता कौशल मिश्रा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलको नाम राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।

राष्ट्रपति पौडेलले आज उनीहरुलाई नै मन्त्रि नियुक्त गरेर सपथ गराउने छन् । मन्त्रीहरूको शपथ ग्रहण दिउँसो २ बजे गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको छ । परियारलाई कृषि तथा पशुपन्छी विकास र खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी छन् ।

मन्त्रीमा सिफारिस सिंहा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी ६५ वर्षे उमेर हदका कारण कात्तिक २०८० मा सेवा निवृत्त भएका थिए । साउन २०७३ मा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । मिश्रा स्वास्थ्य मन्त्रालयको पूर्वअतिरिक्त सचिव हुन् । ६ महिनादेखि बिदामा रहेकी उनी जेन–जी आन्दोलनपछि मन्त्रालयमा हाजिर भए पनि आइतबार मात्र पदबाट राजीनामा दिएकी थिइन् ।

२०५७ मा स्वास्थ्य सेवा प्रवेश गरेकी मिश्रा बीचमा ‘ग्याप’ गरेर पुन: खुला प्रतिस्पर्धामार्फत २०७० मा सरकारी सेवामा फर्किएकी थिइन् । खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकालेकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । १३ भदौ २०८० देखि करिब एक वर्ष स्वास्थ्य सेवा विभागको महानिर्देशकको भूमिका निर्वाह गरेकी उनी स्वास्थ्य मन्त्रालयको प्रवक्तासमेत थिइन् ।

सञ्चारमन्त्रीमा सिफारिस भएका खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन् । उनले खरो र प्रखर अन्तर्वार्ताकार तथा पत्रकारका रूपमा आफ्नो परिचय बनाएका छन् । शिक्षामन्त्रीमा सिफारिस पुन कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् ।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका उनी सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन् । प्रतिष्ठित ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पुन नेपालमा विज्ञान र अनुसन्धानको विकासमा लामो समयदेखि सक्रिय छन् ।

पुनले आफ्नै जीवन कथा समेटेर ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ प्रकाशनसमेत गरेका छन् । पछिल्लो समय उनले २०५९ देखि बन्द वीरगन्जस्थित कृषि औजार कारखाना पुन: सञ्चालनमा ल्याउँदै त्यही परिसरमा नयाँ आविष्कारका कामहरू गरिरहेका छन् ।

कृषिमन्त्रीमा सिफारिस परियार जलवायु तथा कृषिविज्ञ हुन् । हाल उनी समता फाउन्डेसनका अध्यक्षसमेत छन् । संविधानसभाको राज्य पुन:संरचना उच्चस्तरीय आयोगको संयोजक रहेरसमेत उनले काम गरेका थिए ।

जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमा तीन मन्त्री नियुक्त भएका थिए । अर्थ, ऊर्जा, भौतिक पूर्वाधार, सहरी विकास र गृह मन्त्रालयमा क्रमश: रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री कार्कीले ११ सदस्यीयसम्म मन्त्रिमण्डल बनाउने बताउँदै आएकी छन् ।