२२ मंसिर २०८२, सोमबार
,
Latest
एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्लाई आज पूर्णता दिने तयारी, अन्तर्राष्ट्रिय दबाब बढ्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन् । सम्भवत: आजै सबै मन्त्री नियुक्त गरी सपथ गराउने तयारी छ ।

स्वतन्त्र र समावेशी मन्त्रिपरिषद् बनाउने प्रयासमा प्रधानमन्त्री सुशीला कार्की छन् । तर सरकार गठन भएको १० दिन हुँदा पनि सरकारले पूर्णता पाउन नसक्दा कार्यसम्पादन प्रभावित हुन थालेको छ ।

सामान्यत: आन्दोलनबाट गठन भएको सरकारमा मन्त्रिपरिषद् विस्तारमा यति धेरै ढिलाइ हुँदैन । तर यस पटक अस्वाभाविक ढिलाइ देखिएको छ ।

जेन–जी आन्दोलनको स्पष्ट म्यान्डेटसहित गठित सरकारले एक साता बित्दा पनि पूर्णता नपाउँदा सीमित समयको सरकारको कार्यसम्पादन प्रभावित भइसकेको छ ।

मन्त्रिपरिषद्मा जेन–जी समूहबाट प्रतिनिधित्व नहुने आशंका बढिरहेका बेला प्रधानमन्त्री कार्कीले जेन–जी का पाँच जनालाई मन्त्री बनाउने तयारी गरेकी हुन् । तर मन्त्री बन्नेहरुको नाम सार्वजनिक भएको छैन ।

११ सदस्यीय मन्त्रिपरिषद् बनाउने भनेकी कार्कीले अहिलेसम्म तीना जनालाई मात्र बनाएकी छन् । बाँकी ७ जनामा पाँच जना जेन–जी समूहका व्यक्ति हुने छन् । अरु दुई जनाको नाम भने टुंगो लागिसकेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ ।

२७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले ३० भदौमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्याल तथा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।

आन्दोलनपछिको संक्रमणकालसँगै ६ महिनाभित्र निर्वाचन र सुधारको काम गर्नुपर्ने चापका बीच बनेको यो सरकारले उच्चस्तरीय छानबिन आयोग र भ्रष्टाचारविरुद्धको शक्तिशाली आयोग गठन गर्ने घोषणा गरेको छ । अब यी काम पनि तत्काल अघि बढाउनुपर्ने छ ।

मतदाता नामावलीको बाधा व्यवधान फुकाउन र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न कानुन संशोधन गर्नुपर्छ । संसद नभएकाले अध्यादेशमार्फत कानुन संशोधन गर्नुपर्ने हुन्छ ।

तर सरकारले पूर्णता नपाउँदा सबै काम रोकिएको छ । त्यसो त पछिल्लो समय नेपालीहरुमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्न थालेको छ ।

जेन–जीको आन्दोलनका क्रममा जेलबाट ठूलो संख्यामा अपराधीहरु भागेपछि केही देशले नेपालीलाई भिसा दिन रोकेका छन् । यूएईले भिजिट भिसा दिन रोकेकोमा अहिले श्रमिक भिसा पनि दिन छाडेको छ । क्यानडाले पनि नेपालीहरुलाई भिसा दिन कडाइ गरेको छ ।

जेलबाट भागेकाहरु आफ्नो मुलुकमा छिर्ने त्रासले केही देशले भिसामा कडाइ गरेका हुन् ।

अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश नजाओस् भनेर पनि सरकारले तत्काल जेलबाट भागेकाहरुलाई पक्राउ गरी कारबाही गर्नुपर्छ । त्यति मात्र होइन, जेन–जी आन्दोलनका क्रममा भएका घटनाको तत्काल छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ । अनि मात्र विश्व समुदायलाई केही विश्वस्त तुल्याउन सकिन्छ ।